काठमाडौं, श्रावण २५, २०७५ । ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डमा कार्यरत सरोज लामा दैनिक पशुपति जान्छन । बाबासँग गाँजा किनेर ल्याउँछन । अनि काठमाडौंका बिभिन्न होस्टलमा बस्ने युवा युवतीको कोठासम्म पुर्याएर बीस गुणा ज्यादा असुली गर्छन ।
उनको सेकुरिटी गार्डको जागिर दुनियालाई देखाउनका लागि मात्रै हो, मुख्य धन्दा त होस्टलमा बस्ने युवायुवतीलाई अबैध लागू औषध गाँजाको लत लगाएर दुब्र्यशनी बनाउने र आफू रातारात धनी बन्ने हो ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले लागू औषध सहित लामालाई पक्राउ गरेपछि खुलेको यथार्थ हो । यो यथार्थसँगै राजधानीका बिभिन्न होस्टलहरुमा रहेका युवा युवती कसरी लागू औषधको दुब्र्यशनमा फसिरहेका छन भन्ने डरलाग्दो स्वरुप बाहिर आएको छ । लामालाई लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा बुधवार शान्तिनगर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउपछि अनुसन्धानमा ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत लामाको धन्दा गाँजाको बिक्री वितरण रहेको देखियो । लामाले आफ्नो ग्राहक बानेश्वरलगायत उपत्यकाका बिभिन्न क्षेत्रका विभिन्न स्थानमा रहेका होस्टलमा बस्ने विद्यार्थी रहेको खुलासा गरे । ‘फोन गरेर कति चाहिएको हो, त्यस्को जानकारी गराउँछन, उनीहरुले मागेपछि पशुपति गएर किनेर ल्याई होस्टलसम्म पुर्याउने गरेको छु,’ प्रहरीसँगको बयानमा लामाले भनेका छन, ‘प्याक गरेर होस्टलमै लगेर जिम्मा लगाउँछु ।’
प्रहरीका अनुसार पशुपतिबाट ५ सय रुपैयाँमा किनेर ल्याएको गाँजालाई लामाले स-सानो पोका बनाइ चार हजार रुपैयासम्ममा विक्री गर्ने गरेका छन । एक पटक ल्याउँदा ३५ सय नाफा हुने भएकै कारण गाँजा सप्लाई गरी होस्टलका बिद्यार्थीलाई लागू औषधको दुब्र्यशनमा फसाउने काममा उनी लागेको पनि बयानको क्रममा खुलाएको प्रहरीको भनाई छ । प्रहरीले उनलाई जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले होस्टलमा लागू औषध सेवन गर्ने गरेको सूचनाको आधारमा धेरै पटक अनुगमन गरेको छ, तर सवै प्रयोगकर्ताले अत्यन्तै गोप्य रुपमा लुकाउने गरेको कारण प्रमाण फेला पार्न सकेको थिएन । तर गाँजा सप्लाई गर्ने ब्यक्ति नै फेला परेपछि भने अनुगमनको क्रममा प्रहरीले होस्टलमै पुरिया फेला पारेको छ ।
लागू औषध यसअघि पनि बानेश्वर क्षेत्रमा प्रहरीले आयोजना गरेको ‘टोलटोलमा प्रहरी’ कार्यक्रममा होस्टलमा बस्नेहरुले गाँजाको प्रयोग गर्ने र होहल्ला गर्ने गुनासो गरेका थिए । तर, प्रमाण हात पारिसकेको थिएन ।
लामाको बयानबाट होस्टलमा बस्ने विद्यार्थीलाई गाँजा सप्लाई हुने गरेको पुष्टि भएपछि बानेश्वर वृत्तका डिएसपी गोविन्दराज काफ्लेले नेपाल होस्टल एसोसिएसनसँग समन्वय गरेर अनुगमन अघि बढाएका हुन ।
जनप्रतिनिधि, होस्टल एसोसिएसन, प्रहरी लगायतको टोलीले सुरु गरेको अनुगमनका क्रममा बिहीबार प्रहरीले विद्यार्थीको कोठाबाट तास खेल्दै गरेको अवस्थामा गाँजा बरामद गरेको थियो । ‘अनुगमनका क्रममा स्थिति निकै भयावह भेटिएको छ । होस्टलमा विद्यार्थी कसरी लागूऔषधको दुब्र्यशनमा फसिरहेका छन भन्ने डरलाग्दो तथ्य बाहिर आएको छ,’ डिएसपी काफ्लले भन्नुभयो ।
लामाको बयानपछि नेपाल होस्टल एसोसिएनका केन्द्रीय अध्यक्ष चेतन दाहाल, वडा सदस्य रोहिणी श्रेष्ठ, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिका पदाधिकारी, बानेश्वर वृत्तका डिएसपी काफ्ले नेतृत्वको प्रहरी टोली बिहिवार अल्फा ब्वाइज होस्टल पुग्यो । त्यहाँ अनुगमनको क्रममा तासको बुकसँगै विद्यार्थीको पलङ मुनिको ड्रयरभित्र गाँजा फेला पारेको हो ।