काठमाडौं, श्रावण १३ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाले स्वीकृत गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको प्रतिनिधि सभाको बैठकमा सैद्धान्तिक छलफल पछि सो विधेयक बहुमतले स्वीकृत भएको हो ।

विधेयक स्वीकृत भएसँगै दफावार छलफलका लागि संशोधन दर्ता गराउने बाटो खुलेको छ । सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंदै शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणी पोखरेलले स्वास्थ्य शिक्षाका विभिन्न विषयहरु समेट्ने गरी ऐनका रुपमा विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

उहाँले छुटेका विषयलाई संशोधन र छलफलमार्फत समेट्न सकिने भन्दै सबैको भावना अनुसार सहमतिका आधारमा विधेयक पास हुने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य शिक्षामा देखा परेका विकृति र विसंगतीको अन्त्य, एकद्वार प्रणालीमा गुणात्मक चिकित्सा शिक्षा दिने व्यवस्था गर्ने र स्वास्थ्य शिक्षा क्षेत्रमा गुणस्तरीयता कायम गर्न विधेयकमा आयोगको परिकल्पना गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी बुधवार दिउँसो १ का लागि बोलाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्