काठमाडौं, श्रावण ११, शुकबार । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यन्वयनका लागि सरकारले गरेका कामहरुको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आर्थिक बर्ष २०७३–०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनु भएको हो ।
प्रतिवेदनमा राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम र उपलब्धिहरु, सरकारी वित्त व्यवस्था र उपसंहार खण्ड समेटिएको छ ।
प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७३-०७४ मा सरकारबाट २२ विषयगत ऐन निर्माणका विधयकहरु,२१ नियमावलीहरु,९ विषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधि स्वीकृत भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमहरुलाई प्राथमिकीकरण गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई क्रमश कार्यन्वयन गर्दै समृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, असमानता तथा विभिन्न विसङ्गतिहरु निराकरण गर्नका लागि संविधानले मार्गदर्शन गरेका नीति एवम् दायित्व जनआकांक्षा अनुरुप परिपूर्ति गर्नेतर्र्फ सम्बद्ध सबैले ध्यान दिनुु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रपति कार्यालयका सचिव पनि उपस्थित हुुनुहुन्थ्यो ।