काठमाडौं, साउन ५, २०७५
तरुण दलले प्रहरी हस्तक्षेपको विरोधमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरी कुटपिट गरेको भन्दै तरुण दलले त्यसको विरोधमा आइतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने जनाएको छ ।
नयाँ वानेश्वर झडपमा घाइते भएकालाई भेट्न सिभिल अस्पताल पुगेका तरुण दलका उपमहासचिव दिनेश विक्रम शाहले प्रहरी दमनको विरुद्ध आन्दोलन चर्काउने बताउनुभएको हो । दुई तिहाईको दम्भमा सरकारले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी लगाएर दमन गरेको भन्दै उहाँले त्यस विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।
अस्पतालमा उपचाररत घाइतेहरुले नागरिकको आवाज दवाउन ओली सरकार प्रयत्नरत रहेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने बताएका छन् । घाइते तरुण दल कामाडौ निर्वाचन क्षेत्र नम्बर ९ का अध्यक्ष अमिर खड्काका अनुसार, अध्यक्ष जीतजंग बस्नेतसहित १ सय ५० भन्दा बढी तरुण दलका नेता कार्यकर्ता प्रहरीको हस्तक्षेपमा घाइते भएर सिभिल अस्पतालमा उपचार गराएका छन् ।