काठमाडौँ, असार २९, २०७५ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको बताएका छन् । “भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ” प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो ।
२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुदै प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् । नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ छ ।
प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग सम्वन्धमा प्रधानमन्त्री ओली सकारात्मक भएका छन् । “तपाईंहरुका मागका सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिनेछ ” प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्रीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण समेत गरेका छन् ।