- ADVERTISEMENT -

एमाले र माओवादी एकिकरण भएर नेपाल कम्युनिस्ट पार्टी बन्यो

May 18, 2018
2333
Shares
- ADVERTISEMENT -

काठमाडौँ, जेठ ४ गते ।  २०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्ततः एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवनराज आश्रतिको स्मृति दिवस पारेर एकीकृत भएका छन । मदन आश्रति स्मृति दिवसका अवसर पारेर देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिस्ट दलको एकीकरणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको दाबी गर्नुभएको छ । पार्टी एकतासँगै मुलुक आर्थिक समृद्धिको बाटोमा प्रवेश गरेको समेत उहाँले बताउनुभयो । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी एकतासँगै अब स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारमा एउटै दलको बहुमत पुगेको छ । उहाँले भन्नुभयो, ‘मिलिजुली सरकार थियो, अब एउटै पार्टीको सरकार छ । ६ वटा प्रदेशमा मिलीजुली सरकार थियो, अब एउटै दलको छ वटा सरकार भयो । ’
अध्यक्ष ओलीले सुन्दर सम्भावना थपिएको बताउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार एउटै दलको हातमा आएको बताउनुभयो । सही नीति बनाएर अगाडि बढ्ने र देशलाई समृद्ध बनाउनुको विकल्प नरहेको बताउँदै उहाँले भन्नुभयो, ‘अब पनि देश बनाउन नसक्ने हो भने कसैलाई दोष दिएर उम्किने ठाउँ हुने छैन । ‘हामी दुई दल अन्तरघुलित भएका छौँ, यो मिसिएको होइन ।

- ADVERTISEMENT -

Advertisement

हिन्द महासागरमा कर्णालीको पानी खोजेर पाइँदैन, त्यसैगरी नयाँ पार्टीमा एमाले र माओवादी केन्द्र भेटिँदैन’ अध्यक्ष ओलीले भन्नुभयो । ‘अघिसम्म प्रचण्ड एउटा पार्टीको नेता हुनुहुन्थ्यो, म पनि अर्को पार्टीको नेता थिएँ । अब हामी एउटै पार्टीका नेता भएका छौँ । हेर्दाहेर्दै माओवादी केन्द्र एमालेमा बिलायो र एमाले माओवादी केन्द्रमा बिलायो, कसैले कसैलाई निलेको होइन,’ अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, हामीले नयाँ पार्टी स्थापना गरेका होइनौँ, २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी विभाजित भएको थियो, त्यही पार्टीलाई एक बनाउने अभियानमा जुटेका हौँ । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट फुटको पीडा जनता र देश दुवैले सहनुप¥यो, अब त्यस्तो पीडा सहनुपर्ने छैन । कम्युनिस्ट अब जुट्न मात्र जान्नेछन्, फुट्न होइन । ’
कसैले सोध्लान् नयाँ दलमा दुई जना अध्यक्ष किन ? अध्यक्ष ओलीले आफैँ जवाफ दिनुभयो, ‘टेम्पो चलाएजस्तो होइन, जेटमा दुई वटा चालक हुन्छन्, आवश्यकताले हामी त्यही जेट चलाउने चालक हौँ । ’ कम्युनिस्टका लागि दुई तिहाइ बहुमत सामान्य जोडघटाउ मात्र भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘आगामी निर्वाचनमा कम्युनिस्ट पार्टीले दुई तिहाइ होइन, कम्तीमा तीन चौथाइ मत ल्याउँछ । ’ ‘पार्टी एकता गर्छौं भन्दा कतिलाई ठट्टा लाग्थ्यो, आज एकता गरेर देखाएका छौँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाल कम्युनिस्ट पार्टीले तीन चौथाइ मत ल्याउँछ भन्दा कतिलाई ठट्टा लाग्न सक्छ तर हामी ल्याएर देखाउँछौँ । ’ अध्यक्ष ओलीले कसैलाई लक्षित गरेर पार्टी एकता नगरेको बताउँदै देश बनाउन र जनतालाई सुखी बनाउन पार्टी एकता भएको प्रस्ट पार्नुभयो । आफू पनि भ्रष्टाचार नगर्ने र अरुले गरेको पनि आफूले नसहने चेतावनी समेत उहाँले दिनुभयो ।
अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई समेत देश बनाउने अभियानमा हातेमालो गर्न आग्रह गर्नुभयो । ‘काँग्रेस वैधानिक प्रतिपक्षी हो तर म अहिले पनि प्रतिपक्षीका रूपमा हेर्दिनँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल बनाउने महान् अभियानमा गुण र दोषको आधारमा वैधानिक भूमिका निर्वाह गर्नुस् । ’
वरिष्ठ नेता माधवकुमार नेपालले नवगठित पार्टीको घोषणापत्र वाचन गर्दै लामो छलफलपछि पार्टी एकीकरण सम्भव भएको बताउनुभयो । पार्टी एकतासँगै मुलुक बनाउने महान् जिम्मेवारी नयाँ दलको काँधमा आएको बताउँदै उहाँले त्यसलाई सफल पार्न सबैको सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -