३ जेठ, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् । सन्दिपले अब वेष्ट इण्डिजविरुद्ध ३१ मेमा इंगल्याण्डको लर्डसमा हुने म्याच खेल्नेछन । खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष हुरिक्यान आँधीका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको आईसीसीले जनाएको छ । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ । उनले खेल्ने टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची रहनेछन ।
आईसीसी ‘वर्ल्ड ११’ मा परेको जानकारीपछि प्रतिक्रिया दिँदै सन्दिपले भनेका छन्, ‘वेस्ट इन्डिजविरुद्ध खेल्न आईसीसी ‘वर्ल्ड ११’ मा परेर मलाई निकै खुशी लागेको छ । यो नेपाल र नेपालका सबै क्रिकेट समर्थकका लागि खुशीको कुरा हो । यसले नै अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको खुबीलाई पनि प्रस्ट पार्नेछ ।’
उनले सन् २०१६ जुलाईमा लर्डसमै एमसीसीविरुद्ध खेल्दा २५ रन खर्चेर एक विकेट लिएका थिए । त्यो खेलमा नेपाल विजयी भएको थियो । सन् २०१४ मा त्यस समयका नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायकेले चितवनको क्याम्पाचौरबाट सिधै राष्ट्रिय टिममा ल्याएदेखि नै सन्दिपले आफूलाई प्रमाणित गरिरहेका छन् ।
डिभिजन २ र विश्वकप छनोटमा उत्कृष्ट खेल देखाएका सन्दिपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलेर पनि नेपाली क्रिकेटमा इतिहास बनाएका छन् । उनी वेस्ट इन्डिजमै हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा पनि परेका छन् ।