अमेरिकाले आफ्नो दूतावास जेरुसेलमा आफ्नो दूतावास खोलेपछि इजरेली फौजले गाजामा १२ वर्षीय बालकसहित कम्तीमा ५५ प्रदर्शनकारीहरूलाई गोली हानी हत्या गरेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। त्यसको विरोधमा प्यालेस्टाइनीले प्रदर्शन गरेका छन्। प्रदर्शनमा इजरायली सेनाले हस्तक्षेप गरेपछि हिंसा भड्किएको हो ।
प्यालेस्टानका अधिकारीका अनुसार उक्त हिंस्रक झडपमा कम्तीमा २ हजार ७ सय घाइते भएका छन् । जेरुसेलममा अमेरिकी दूतावासको उद्घाटनपूर्व उक्त हिंसा भएको हो । दूतावासको विषयमा प्यालेस्टिनी नागरिकले विरोध जनाइरहेका थिए ।
प्यालेस्टिनीहरुले यसलाई जेरुसेलममा इजरायली कब्जालाई अमेरिकी समर्थनको रुपमा हेरिरहेका छन् । प्यालेस्टिनीहरु जेरुसेलमको पूर्वी इलाका आफ्नो भएको दाबी गर्दछन् तर सो शहर कहिले विभाजित हुन नदिने इजराइलले बताउँछ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुस्नरसहित उच्च अमेरिकी अधिकारीहरु सो उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो सेनाले आत्मरक्षाका लागि मात्रै सैन्य गतिविधि गरेको दाबी गरेका छन् । गाजामा रहेका इस्लामिस्ट, हमाससहितका पक्षबाट आफ्नो रक्षाका लागि सैन्य गतिविधि भएको नेतान्याहूको भनाई छ । उनीहरुका कारण इजरायलमाथि खतरा रहेको उनले बताए ।
तर प्यालेस्टाइनी अधिकारीले भने इजरायली सेनाले गाजामा गरेको गतिविधि आम नरसंहार रहेको र त्यसको घोर भत्सर्ना गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघले मानव अधिकारको गम्भीर उल्लंघन रहेको बताएको छ ।
जेरुसेलमका बारेमा इजरायल र प्यालेस्टाइनबिच लामो समयदेखि विवाद रहँदै आएको छ । जेरुसेलमको पूर्वी क्षेत्र आफ्नो रहेको प्यालेस्टाइनको भनाई छ ।