- ADVERTISEMENT -

केबी गुरुङको चार बुँदे सुझाव: बीपीको विचार छाडी सत्तामात्र ताक्दा कांग्रेसको यो हालत

April 22, 2018
1907
Shares
- ADVERTISEMENT -

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीले बीपीको विचार र चिन्ता छाडेकाले कांग्रेसको हालत यस्तो भएको बताएका छन्।

आज पार्टी मुख्यालय सानेपा पार्टीको केन्द्रीय समितिलाई पार्टी हारको कारणबारे आफ्नो विचार प्रस्तुत गर्दै गुरुङले उक्त भनाइ राखेका हुन्।

- ADVERTISEMENT -

Advertisement

‘अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालिन नीति र सिद्धान्त एवम् राजनेता वीपी कोइरालाले अवलम्वन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण नेपाली कांग्रेस आजको यो दुःखदायी अवस्थामा आइ पुगेको हो भन्ने मेरो निष्कर्ष रहेको छ,’ केन्द्रीय सदस्य गुरुङले भने, …पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिँदै हामी कहिले उग्रवामपन्थीहरुसंग अंकमाल गर्न पुग्यौं भने कहिले उग्रदक्षिणपन्थीहरु सँग। सिद्धान्त ,निष्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो।’

तीनै तहको निर्वाचनमा नराम्रारी हारेको कांग्रेसले चैत ९ देखि केन्द्रीय समितिमा हारको समीक्षा सुरु गरेको हो। पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा शाशंक कोइरााल, कोषाध्यक्ष सीतादेवी यादवलगायतको उपस्थितिमा बैठक जारी रहेको छ।

यी हुन् गुरुङले प्रस्तुत गरेको चार बुँदे

१. नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समयमै गम्भिरतापुर्वक नलिई तिनै गल्ती र कमजोरीहरूलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँगेसले नराम्रोसंग पराजय भोग्नु परेको छ । निर्वाचनमा भएको यो पराजयले नेपाली कांग्रेसले आज आफ्नो साखमात्र गुमाएको छैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा यसले आफ्नो लोकप्रियता गुमाएको भन्ने मेरो ठहर रहेको छ ।

पार्टी पराजयका विषयमा आज केन्द्रीय समितिको यो बैठकमा समीक्षा भैरहदा यो पराजयको कारण नेपाली कांग्रेसले अवलम्वन गरेको अहिलेको नीतिले होकि, हामीहरूको कार्यशैलीको कारणले हो वा नेतृत्वको अक्षमताले हो ? भन्ने विषयमा गम्भीर रूपमा छलफल हुनु पर्ने थियो, तर दुभाग्य त्यस तर्फ हाम्रो गंभीरता देखिएको छैन । अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालिन नीति र सिद्धान्त एवम् राजनेता वी.पी. कोइरालाले अवलम्वन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण नेपाली कांग्रेस आजको यो दुःखदायी अवस्थामा आइ पुगेको हो भन्ने मेरो निष्कर्ष रहेको छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिँदै हामी कहिले उग्रवामपन्थीहरुसंग अंकमाल गर्न पुग्यांै भने कहिले उग्रदक्षिणपन्थीहरु सँग । सिद्धान्त ,निष्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो । यसको सुरुवात कहाँबाट भयो ? र के आज हाम्रो ऐतिहासिक गौरवशाली पार्टी यो दुराअवस्थामा आई पुग्नुको कारण पार्टीको सैद्धान्तिक विचलन हो ? यस तर्फ हामी कहिल्यै गंभीरु भएनौँ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी पराजयको विषयमा समीक्षा गर्न छलफल गरिरहँदा कार्यसमितिका साथीहरू पराजयको विषयमा गहिराइसम्म पुगेर स्वतन्त्र एवम् निष्पक्ष ढङ्गले समीक्षा गरी पार्टीलाई गतिशील बनाउन प्रयास गर्ने भन्दा एक एकले अर्कालाई दोष मात्र थोपरेर आँफु चोखो बन्ने प्रवृत्ति देख्दा म अत्यन्त मर्माहित भएको छु ।

पार्टी विधान अनुसार ११ जनाको बनाउनु पर्ने संसदीय समितिलाई २५ जनाको वनाउदा पनि हामी सबै मौन रह्यौं । जिल्लाबाट सिफारिस नगरिएका व्यक्तिहरूलाई टिकट दिँदा र एक ठाउँबाट सिफारिस गरिएका व्यक्तिलाई अर्को ठाउँमा टिकट दिँदा हामी कोही बोलेनौ । कार्यसमितिको कुरै छोडौँ संसदीय समितिमा पनि छलफल नै नगरी भागवण्डाका आधारमा टिकट वितरण गर्दा कार्यसमितिको साथीहरूको भूमिका के रह्यो ? विधान विपरीत बनेको संसदीय बोर्डका सबै सदस्यहरूले आफैले टिकट लियौँ तर दुर्भाग्य मुस्किलले चारजनाले मात्र जित्यौँ, यो भन्दा लज्जाको विषयको अरू के हुन सक्छ ? आफै टिकट बाँड्ने, आफै टिकट लिने र आँफु आफ्नो क्षेत्रमा जित्न पनि नसक्ने, अनि पराजयको दोषजती अर्काको टाउकोमा पन्छयाएर हामी उम्कन सक्दछौँ ? यो पराजयको जिम्मेवारी संसदीय बोर्डका सबै सदस्यहरू र यो केन्द्रीय कार्यसमितिले लिनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।

२. ६०÷४० को भागवण्डामा बाँडिएको पार्टी एकजुट हुनेछ, पार्टी व्यक्तिवादी प्रवृत्तिलाई त्याग गरेर समग्र रूपमा नेपाली काँग्रेस हुनेछ, नेपाली काँग्रेस भित्र नेपाली काँग्रेस खोज्ने परिस्थितिको अन्त्य हुनेछ, काँग्रेसबाट मेरो र तेरो भन्ने भेदको समाप्ति हुनेछ, पार्टी अनुशासित, विधि अन्तरगत चल्ने दल हुनेछ, पार्टीमा पद र पैसाको राजनीतिको आधारबाट हुने राजनीतिको अन्त्य भई निष्ठा सदाचार र आदर्शको मान्तयतामा आधारित देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने परिपार्टीको विकास हुनेछ, पार्टीको मूलभुत सिद्धान्तहरू राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एवम् वीपीको विचार र चिन्तन व्यवहारमा लागु गर्न, यसलाई थप विकसित गर्दै संरक्षण एवम् प्रवर्धन गर्नेछ भन्ने विश्वास लिएर श्री शेरबहादुर देउवाजीलाई, विगतमा उहाँले केही गल्ती गरेको भए तापनि नेपाली काँग्रेसबाट नै जन्मे–हुर्केको कार्यकर्ता भएको नाताले पार्टीलाई वीपीको आदर्श नीति र चाहना अनुसार अगाडी लग्नु हुनेछ भन्ने भरोसा गर्दै पार्टीको १३ औँ महाधिवेशनमा मेैले उहाँलाई पार्टीको सभापतिमा प्रस्तावित गरेको कुरा यो कार्यसमिति बैठकलाई स्मरण गराउन चाहन्छु ।

१३ औँ महाधिवेशनमा म समेत देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूले बडो विश्वासका साथ मत दिएर सभापतिमा विजय बनेका शेरबहादुर देउवाजीले हाम्रो विश्वास र पार्टीको सिद्धान्त विपरीत पार्टीमा अझ व्यापक रूपमा गुटलाई प्रोत्साहित गर्ने, पार्टी विधान बमोजिम दुई महिना भित्र पदाधिकारी प्रस्ताव गरी मनोनयन गर्ने, विभागहरू गठन गरी पार्टीलाई परिचालन गर्ने कार्यमा सभापतिले पूर्ण रूपमा व्यवास्ता गरी पार्टीलाई ध्वस्त बनाएको, पार्टीका भातृसंस्थाहरूलाई सशक्त बनाई परिचालन गर्न नसकेको, स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर नगपालिकामा पार्टीको सिद्धान्त, नीति विपरीत पार्टीको कार्यसमितिलाई पनि छलेर देउवाजीको सत्ता केन्द्रित मोहबाट अभिप्रेरित भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्रीलाई जिताउन हँसिया हथौडामा भोट मागेको, प्रजातान्त्रिक मूल्य र मान्यता एवम् स्वतन्त्र न्याय पद्धति प्रति पार्टीको अटुट आस्था र विश्वासको भावनामा चोट पुग्ने गरी पार्टी सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बनेका देउवाजीको क्रियाकलापबाट स्वतन्त्र न्यायालयको गरिमा प्रति पुग्न गएको चोट, सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बने पछि बीबीसी साझा सवाल लगायत विभिन्न कार्यक्रम र मञ्चहरूमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरीत विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गम्भीर क्षति लगायतको कार्यबाट १३ औँ महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावका बसेको नाताले म अत्यन्त नै मर्माहत हुन पुगेको छु । अतहः मैले देउवाजीलाई १३ औँ महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिब दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त नै दुःखित हुन पुगेको परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको पर्बाह नराखी मैले १३ औँ महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई नेपाली काँँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपुर्वक सुनाउँदछु ।

३. पार्टी पराजयको यो अत्यन्त गम्भीर अवस्थामा त्यसको समीक्षा गर्न बसेको केन्द्रीय कार्यसमितिको बैठकले यसका यथार्थ कारणहरू पत्ता लगाउने भन्दा समस्यालाई पन्छाउने उद्देश्यले केवल महाधिवेशन वा महासमितिको बैठकको कुरा उठाइएको हो भन्ने मलाई महसुस भएको छ । एक हप्ता देखि जारी यो केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको पराजयको विषयमा यथार्थपरक ढङ्गबाट समीक्षा गर्न असमर्थ रहने अवस्थामा त्यसको समीक्षा महाधिवेशन वा महासमितिबाट सम्भव रहँदैन । पार्टीको तीनै तहमा भएको लज्जास्पद पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ । देशमा संविधानसभाबाट जारी संविधानको प्रावधान बमोजिम नयाँ पुनर्गठित जिल्ला, नगर र गाउँको संरचनामा परिवर्तन भएको हँुदा राष्ट्रको संवैधानिक व्यवस्थालाई मध्यनजर गरी नेपाली कांग्रेसको विधानमा समयनुकुल परिमार्जन गरी सबै तहका समितिहरूलाई विघटन गरी तदर्थ समितिमा बनाई सबै तहको अधिवेशन आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गर्नु एक मात्र समाधान हो ।

४. म २००७ सालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा सक्रिय रहेको र २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा काठमाण्डौमा सहभागी भई गिरफ्तारी दिएको र आजसम्म निरन्तर रूपमा पार्टीमा संलग्न हँुदै आएको पार्टीको एउटा बफादार सिपाहीं हु । मैले सदैव निष्टा ,आदर्श र सिद्धान्तलाई महत्त्व दिँदै आएको छु । भोलिका दिनमा पनि म मेरा यी मान्यताहरूमा अडिग रही रहने छु । जननेता वी पी कोइरालासँग निर्वासनमा बसेको र २०३३ साल पौष १६ गते वी पी निर्वासनलाई परित्याग गरी नेपाल आउनु भन्दा अगाडि वी. पी. कोइरालाको ज्यान जोखिमबाट बचाउन मलाई पार्टी नेतृत्वले नेपाल पठाएको र तत्कालीन सरकारले मलाई मारे वी पी नेपाल नआउने र नमारेको अवस्थामा नेपाल आउने सर्तमा नेपाल आएको र पार्टी एवम् नेताको लागि ज्यानको समेत पर्बाह नगरेको वी. पी. कोइरालाको एउटा सच्चा अनुयायी हुँ, त्यसैले त म आज पनि तपाईँहरूको अगाडि उभिएर यति बोल्न सकेको छु ।

नेपाली कांग्रेसको यो अत्यन्त नै गम्भीर अवस्थाबाट पार्टीलाई बचाउन मैले आफ्नो उमेरको कुनै पर्बाह नराखी अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने खाँचो मैले महासुस गरेको छु । वर्तमान चुनौतीका अगाडि पार्टीको वर्तमान नेतृत्वबाट आम प्रजातन्त्रवादी र देशभरका निष्ठावान
कार्यकर्ताको भावना अनुसार पार्टीलाई परिवर्तन गर्न सम्भव नभएको अवस्थामा आइपरे पार्टीलाई यसका मौलिक सिद्धान्त र वीपी कोइरालाको विचार, सुवर्णजीको त्याग, गणेशमानजीको वीरता र किसुनजीको आदर्शको बाटोबाट पार्टीलाई अगाडी लैजान मसँग अझै पनि जाँगर एवम् आँट छ भन्ने कुरा यो कार्यसमिति र कार्यसमिति मार्फत देशभरका कार्यकर्ताहरूमा हार्दिक अपिल पनि गर्न चाहन्छु । अन्तमा म जीवन पर्यन्त देश, नेपाली जनता र नेपाली काँग्रेसमा निष्ठापूर्वक सदा समर्पित रही रहनेछु । पहिलाेपाेष्ट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -