विगत अढाई वर्षदेखि उत्पादन बन्द रहेको गोरखकाली टायर उद्योग पुनः सञ्चालनमा ल्याउने वा कर्मचारी बिदाइ गरी उद्योग नै बन्द गर्ने भन्ने सम्बन्धमा अन्योलमा रहेको छ ।

संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको उपसमितिले कर्मचारीलाई अवकाश दिई उद्योग बन्द गर्न गत वर्ष निर्देशन दिए पनि के गर्ने भन्ने सम्बन्धमा सरकार अझै अन्योलमा रहेको हो ।

गत वर्ष उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको उपसमितिले उद्योग मन्त्रालयका अधिकारीलाई बोलाएर टायर उद्योगबारे आवश्यक अध्ययन गरी कर्मचारीलाई स्वैच्छिक अवकाश गर्न निर्देशन दिएको थियो । उद्योगका प्रबन्ध निर्देशक दिनेशकुमार बर्तौलाले सरकारले टायर उद्योग पुनः सञ्चालनका लागि बजेट थप गरेर कस्सिएर लागेमा उद्योग पुनः सञ्चालन गर्न सकिने बताए । गोरखकाली उद्योगले उत्पादन गरेका टायरहरू विदेशबाट आयातीत टायरसँग प्रतिस्पर्धा गर्न नसक्दा विगत ३० महिनादेखि उद्योगको उत्पादन पूर्ण रूपमा बन्द भएको छ । सो उद्योगमा कुल २४१ जना कर्मचारी कार्यरत रहेको र कर्मचारीलाई तलब उपलब्ध गराउनसमेत कठिनाइ भइरहेको प्रबन्ध निर्देशक बर्तौलाको भनाइ छ । उनका अनुसार सो उद्योगमा कार्यरत कर्मचारीलाई विगत २६ महिनादेखि तलब उपलब्ध गराउन सकिएको छैन । उद्योगको तलबबापतको घाटा मात्रै २० करोड रुपैयाँ पुगिसकेको छ ।

प्रबन्ध निर्देशक बर्तौलाले सरकारसँग आफूहरूले कर्मचारीलाई अवकाशको प्याकेज मिलाइदिन आग्रह गरेको बताए । कर्मचारीलाई सेवा सुविधासहित अवकाश गराएमा पौनै २ खर्ब रुपैयाँ बढी आवश्यक पर्ने यसअघि नै संसदीय समितिलाई जानकारी गराइएको थियो । त्यस्तै, उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालन गर्न पौनै खर्ब बढी रुपैयाँ लाग्ने समेत समितिलाई जानकारी गराइएको थियो । बर्तौलाले उद्योग सञ्चालन भएदेखि नै घाटामा चलेको र उत्पादित टायर आयातीत टायरभन्दा महँगो पर्ने भएकाले उद्योग धराशायी अवस्थामा पुगेको बताए । ‘सरकारले जसरी भए पनि चलाउँछु भनेर कस्सिएर लागेमा उद्योग सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले बुधबार राजधानी दैनिकसँग भने, ‘हामीले कर्मचारीका लागि अवकाशको प्याकेज मिलाइदिन आग्रह गरेका छौं ।’ उद्योगसँग करोडौं रुपैयाँ बराबरका कच्चा पदार्थ स्टक रहेका छन् भने ६७० रोपनी जग्गासमेत रहेको छ ।

गोरखकाली उद्योगले उत्पादन गरेको टायर विदेशबाट आयातीत टायरस“ग प्रतिस्पर्धा गर्न नसक्दा विगत ३० महिनादेखि उद्योगको उत्पादन पूर्ण रूपमा बन्द
उद्योग मन्त्रालयका एक उच्च अधिकारीले गोरखकाली टायर उद्योगमा विद्युत्लगायतका पूर्वाधारको पहुँच हुँदाहुँदै उद्योग बन्द हुनु आफैंमा नराम्रो भएको बताए । ती अधिकारीले विद्युत्, बाटोघाटोलगायतका पूर्वाधारको पहुँच भएको उद्योगलाई पुनः सञ्चालनतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

त्यस्तै, उद्योग सचिव यमकुमारी खतिवडाले गोरखकाली टायर उद्योगको बारेमा अध्ययन गर्न एउटा समिति गठन गरिएको र सो समितिको प्रतिवेदनको आधारमा सरकारले आवश्यक निर्णय गर्ने बताइन् । उनले बुधबार मात्रै समितिका संयोजकसँग आफ्नो भेट भएको र अध्ययन सकिएको जानकारी गराएको भन्दै अध्ययन प्रतिदेवन एक÷दुई दिनभित्रै मन्त्रीलाई बुझाउने बताइन् । राजधानी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्