काठमाडौं, चैत १० । नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सीआइटीइ कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएकोे छ ।
पक्राउ पर्ने महिला नक्कली परीक्षार्थीमा काठमाडौं, मनमैजुकी कविता श्रेष्ठ, कैलालीकी जानकी माझी, मनीषा विष्ट र दोलखाकी सम्झना मगर रहेका छन् ।
यसैगरी, भोजपुरका गोपाल ढकाल, बर्दियाका प्रकाश भण्डारी र गौतम राना, कैैलालीका समीप रोकाय, कास्कीका लोचन वाग्ले, गुल्मीका मोहित भण्डारी, दोलखाका सुदीप कार्की र दिवस कार्कीलाई नक्कली परीक्षार्थीकारुपमा परीक्षामा सामेल रहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी वृत्त नयाँबानेश्वरले जनाएको छ ।
पक्राउ पर्नेमा अधिकांश आफन्तको परीक्षा दिन गएका भेटिएको छ भने केहीले भने पैसा लिएर जाँच दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि पौडेलले नक्कली परीक्षार्थीको अभियोगमा पक्राउ परेकालाई कानुनअनुसार कारबाही चलाइने जानकारी दिए ।
केही विद्यार्थीले आफूहरुलाई गाडीमा राखेर परीक्षा दिन पठाएको भनी बयान दिएपछि नक्कली परीक्षार्थीको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
सम्पूर्णरुपमा लोकसेवाले परीक्षा सन्चालन गर्ने भएकाले नक्कली परीक्षार्थीको संलग्नताको सूचना प्राप्त भएपनि त्यसबारे अरु कुराको जानकारी नभएको सेनाले जनाएको छ । रासस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्