भैरहवा, पुस २७ गते । कोरोनाको जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या पनि पातलिएको छ ।
केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुहरुलाई चेकजाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिएर उतै फर्काइएको थियो । “अहिले सीमा नाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचविना गन्तव्यमा पुग्न रोक लगाइएको छ”–रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भन्नुभयो ।
अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकहरुलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् । दिनहुँ आउने पर्यटकहरुलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ । कोरोना पोजेटिभ देखिए उनीहरुले नेपाल भ्रमणको अनुमति पाउँदैन ।
इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले झिन्टीगुन्टा बोकेर स्वदेश फर्किने नेपाली र बाह्य पर्यटकहरुको नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने गरेको जानकारी दिनुभयो । “स्वदेश फर्किएका नेपालीमा संक्रमण देखिए सुरक्षितरुपमा गन्तव्यमा पु¥याइन्छ भने भारतबाट आउने पर्यटकहरुमा सङ्क्रमण देखिए नाकाबाट नै फर्काउने गरिएको छ”–उहाँले भन्नुभयो ।
भारतमा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिन थालेपछि रुपन्देहीको बेलहिया नाकामा सतर्कता अपनाउन थालिएको हो । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा विभिन्न सङ्घ–संस्थाका कर्मचारी खटिएका छन् । गोरखापत्र









































