काठमाडौँ, शनिबार, २३ असोज २०७८ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन् ।
सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा जुट्ने बताएका हुन् । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचो औँल्याएका हुन् ।
मन्त्रालयअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतलाई प्रभावकारी बनाइने तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई सुदृढ गरिने उनको भनाइ छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुका साथै आन्तरिक र अन्तरराष्ट्रिय विमानस्थललाई सुदृढ र प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री आलेले विश्वास व्यक्त गरे ।
पर्यटनमन्त्री आलेले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको यथाशीघ्र सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइने पनि जानकारी दिए ।









































