ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा सफल पर्यटन व्यवसायी डा. रामशरण थपलियाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । २०२४-२०२६ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
शनिबार थपलियाले सामाजिक सञ्जालमार्फत आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्ष समेत रहेका उनले आफू समावेशी टिम बनाएर निर्वाचनमा होमिने बताए ।
उम्मेदवारी घोषणासँगै स्कुपखबरसँगको कुराकानीमा उनले खस्कदो अवस्थामा पुगेको पदयात्रा व्यवसायको पुनर्ताजकीकरण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
यसअघि २ कार्यकाल ठमेल पर्यटन विकास परिषदको अध्यक्ष भएर काम गरिसकेका उनले लामो समयदेखि टानमा रहेका बेरुजुहरुको फर्छौट गराई टानलाई पारदर्शी सस्थाको रुपमा अगाडि बढाउने घोषणा पनि गरे ।
- ADVERTISEMENT -
पदयात्रामा सम्भावना रहेका क्षेत्रहरू गुमाउँदै गएको अवस्थामा टानलाई पुनर्जीवन दिन आफू नेतृत्वमा आउन चाहेको उनको भनाइ छ । ‘पदयात्राका बढी सम्भावना रहेका अल्टरनेटिभ ट्रेकिङ ट्राइलको प्रवर्द्धन हुनुपर्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा भावनात्मक प्रतिनिधित्व हुने गरी जिम्मेवार नेतृत्वको खाँचो छ ।’
टानको वर्तमान अवस्थाको विषयमा जानकारी रहेको बताउँदै उनले भविष्यमा टानको गरिमालाई नयाँ ढंगबाट उठाउन सक्ने योजनाका साथ टान अध्यक्षको उम्मेदवारी घोषणा गरेको दाबी गरे । ‘यो निर्वाचनमा मलाइ सम्पुर्ण पर्यटन व्यवसायीज्युले साथ र सहयोग गर्नुहुने ठूलो अपेक्षा छ,’ उनले भने ।
पदयात्रा व्यवसायमा संलग्न व्यवसायीहरूको संगठन टानको वार्षिक साधारणसभा एवम् निर्वाचन आगामी भदौ १७ गते हुने भएको छ । साधारणसभाले टानको आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।