वालिङ, शनिबार , ९ साउन २०७८ । सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट यहाँका एक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसीभञ्ज्याङ (आसा)ले सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट सुविधासम्पन्न एम्बुलेन्स बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।
सवारी साधनको अभावकै कारण अकालमै कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हाल जापानमा बस्दै आएका स्थानीय खेम जिसीले अगाडि सारेको परिकल्पनालाई मूर्तरुप दिने गरी संस्थागतरुपमा अगाडि बढिएको आसाका कोषाध्यक्ष देवेन्द्रदेव खनालले बताए । तुलसीभञ्ज्याङसहित आसपासका इच्छुक दाता तथा यहाँबाट रोजगारीका सिलसिलामा विदेशी भूमिमा रहेका नेपालीको स्वतःफूर्त सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको कोषाध्यक्ष खनालको भनाइ छ ।









































