बागलुङ, मंगलबार, २५ जेठ २०७८ । बागलुङको निसीखोला गाउँपालिकामा जिल्लामै सबैभन्दा कम कोरोना संक्रमति छन् । गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत वर्षदेखि नै आवश्यक पूर्व तयारी गरेका कारण संक्रमण कम भएको जनाएको छ ।
गत वर्षको पहिलो लहरमा पनि जिल्लामै सबैभन्दा कम संक्रमित थिए भने यस वर्षको दोस्रो लहरमा अहिलेसम्म ४६ जनामा मात्रै संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टोपबहादुर चन्दले जानकारी दिनुभयो । यो जिल्लामै सबै भन्दा कम संक्रमित संख्या भएको उहाँको भनाई छ ।
गाउँपालिकामा अहिले १७ जना सक्रिय संक्रमित छन् । जसमध्ये नौँ जना प्रभा माध्यमिक विद्यालयको आइसोलेशन, चार जना कोभिड अस्पताल र तीन जना होम आइसोलेशनमा रहेको चन्दले जानकारी दिनुभयो ।
उहाँले अरु पालिकामा जस्तो अहिलेसम्म धेरै संक्रमित नबढेको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै आन्तरिक व्यवस्थापनलाई जोड दिएको बताउनुहुन्छ ।
सौभाग्य मान्नुपर्छ, हालसम्म निसीखोलामा संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । गाउँपालिकाले सुरुको दिनदेखि नै संक्रमण नियन्त्रणमा सक्रिय भएकाले अन्य पालिकामा जस्तो धेरै संक्रमण नफैलिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बताउनुभयो ।









































