धरान, शुक्रबार, ७ जेठ २०७८ । प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुको घरमै गएर मोबाइल डाक्टर सेवा दिदैँ आएको छ ।
प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार धरानमा रहेको कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई बिहीबार मोबाइल डाक्टर सेवा प्रवाह गरिएको छ । धरानका तीनजना सञ्चारकर्मीहरुलाई मोबाइल डाक्टर सेवा प्रवाह गरिएको हो । यसअघि इटहरी र इनरुवाका आठजना सञ्चारकर्मीहरुलाई सो सेवा प्रदान गरिसकिएको उनले बताए ।
‘हामीले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै गएर डाक्टरसहित औषधी प्रदान गर्दै आएका छौँ,’ अधिकारीले भने, ‘डाक्टर र नर्सले कोरोना संक्रमितहरुलाई उत्प्रेरणामुलक कुरा सेयर गर्ने र औषधी प्रदान गर्दै आउनुभएको छ, प्रेस युनियनको यो अभियानले यसबेला कोरोना जित्नका लागि हौसला मिलेको अनुभव गरेका छौँ ।’ उनका अनुसार कोरोना लागेर आइसोलेट भएका सञ्चारकर्मीहरुलाई मोबाइल डाक्टर सेवाले कोरोना जित्नका लागि हौसला प्रदान गर्नेछ ।









































