कटारी, भावना थापा, शुक्रबार, ३ पौष २०७७ । कटारीमा व्यापार संघकै अध्यक्षको धारा काटिएको छ ।
उदयपुरको कटारी बजार नयाँ खानेपानी तथा उपभोक्ता समितिले पटक पटक ताकेता गर्दा समेत खानेपानीको महसुल नबुझाएपछि बाध्य भएर केही उपभोक्ताको धारा काटेको जनाएको छ ।
समितिका अध्यक्ष दोजराज पौडेलका अनुसार समितिले आयोजनाबाट धारा जडान गरी पानी उपभोग गरी रहेका तर २०७६ भदौ यता २०७७ मंसीर सम्ममा बुझाउन बाकी महसुल बुझाउन पटक पटक ताकेता गरिएको थियो ।
समितिले लकडाउनको चपेटामा परेकाका कारण सवै ग्राहकको २०७६ चैत्र महिनाको पुरै महसुल मिनाह समेत गरेको हो । त्यस यता पटक पटक बाकी महसुल बुझाउन पत्र पठाउने, चोक चौतारामा सुचना टास गर्ने, स्थानीय एफएम स्टेशनबाट सुचना प्रसारण गरेको र समितिका पदाधिकारीहरु ग्राहकको घरमै गएर महसुल बुझाउन आग्रह गर्दा समेत अटेर गरे पछि बाध्य भएर धारा नै काट्नु परेको हो, समितिका अध्यक्ष पौडेलले भन्नु भयो ।
गत वर्षको भदौ यता महसुल बुझाउन ३६५ ग्राहक रहेकोमा अन्य सवैले बुझाएको तर उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष समेत रहेका पुष्कर खड्काले महसुल नबुझाएको भन्दै उहाँको धारा काटेको समितिका अध्यक्ष पौडेलले बताउनु भयो ।
खड्काले ७६ भदौमा धारा जडान गरी पानी उपभोग गरे यता अहिले सम्म एक रुपैया पनि महसुल बुझाउनु भएको छैन, हामीले उहाँलाई पटक पटक आग्रह गर्यौ तर बुझाउनु भएन, अन्ततः बाध्य भएर हामीले उहाँको धाराको लाईन काटेका हौं, अध्यक्ष पौडेलले भन्नु भयो । कटारीमा तेश्रो साना सहरी खानेपानी योजना अन्तर्गत झण्डै सय घरमा धारा वितरण गरिएको छ ।
उता, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष खड्काले भने समितिले लामो समय संस्थाको साधारण सभा समेत नगरेको, संस्थाको हरहिसाव सार्वजनिक नगरेको, धारा जडान र वितरणको काम पारदर्शी नभएको दावी गर्दै आइ रहेका छन् ।









































