चितवन, शनिबार, २२ कात्तिक २०७७ । चितवन प्रशासनद्वारा देउसीभैलो नखेल्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले यस बर्ष चितवनमा यस वर्ष देउसीभैलो नखेल्न आग्रह गरेको हो ।
प्रशासनले नजिकिदै गरेको नेपालीको दोस्रो महान् पर्व तिहारमा देउसीभैलो खेल्दा कोरोना संक्रमण झन् भयावह हुन सक्ने भन्दै देउसीभैलो नखेल्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्टराईका अनुसार तिहारमा घरदैलोमा जाने, देउसीभैलो खेल्ने, आसिस दिन, दान दक्षिणा उठाउने काम गर्न पाइने छैन ।
कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिका कारण देउसीभैलो भन्दा आफ्नो, आफन्त र समाजको स्वास्थ्यको ख्याल राख्नुपर्ने भट्टराईले बताउनुभयो । उहाँले कोभिड–१९ लाई मध्यनजर गर्दै तिहारमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको जानकारी दिनुभयो ।
साथै, कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ । स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।









































