गोरखा, बिहिबार, २० कात्तिक २०७७ । नेपालकै पहिलो तमु खेमा लिपी प्रयोग गर्ने गोरखाको धार्चे गाउँपालिका बनेको छ । अधिंकाश गुरुङ समुदायको बसोबास रहेको गोरखाको धार्चे गाउँपालिकाले तमु (गुरुङ) खेमा लिपीको प्रयोग सुरु गरेको हो ।
तमु (गुरुङ) खेमा लिपीको प्रयोग गर्ने नेपाल कै पहिलो सरकारी निकाय गोरखाको धार्चे गाउँपालिका बनेको छ । गुरुङ समुदायको भाषा लिपि संस्कार संस्कृति संरक्षणका निम्ति आफुहरुले पहिलो पटक तमु (गुरुङ) खेमा लिपीको प्रयोग गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ ले जानकारी दिनुभयो ।
‘हामीले केहि दिन भित्रै कार्यपालिका बैठक बसेर गाउँपालिकाको सबै कागजपत्र, साईनबोर्डहरुमा तमु (गुरुङ) खेमा लिपी प्रयोग गर्ने निर्णय अनुमोदन गर्ने तयारीमा छौं’, उहाँले बताउनुभयो । प्रशिक्षक अभावका कारण सिकाई हुन नसक्दा सुरुवातमै सबैतिर तमु खेमा लिपी प्रयोग गर्न कठिन भएको र अब विस्तारै अन्यमा पनि लिपी प्रयोगमा ल्याईने उहाँले बताउनुभयो ।
साथै, धार्चे गाउँपालिकाले गत सालदेखि नै गाउँपालिका भित्रका सबै विद्यालयको साना कक्षाहरुमा परिक्षणको रुपमा गुरुङ भाषाको पठनपाठन सुरु गरिएको पनि उहाँले बताउनुभयो।









































