पाल्पा, बुधबार, १७ भाद्र २०७७ । घर माथिबाट खसेको ढुङ्गाले च्यापिएर पाल्पामा एक महिलाको मृत्यू भएको छ । जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडामा मंगलवार राती घरमाथिबाट खसेको ढुङ्गाले लागेर माइतीमा आएकी महिलाको मृत्यु भएको हो ।
अविरल वर्षाका कारण गोविन्द्र सोमैको घर माथिको पहाडबाट खसेको ढुंगाले लाग्दा माथागढी गाउँपालिका ७ रहवासकी २९ वर्षकी समिक्षा चौहान मगरको मृत्यु भएको हो । ढुंगाले लागेर ३ वर्षकी छोरी करिश्मा घाइते भएकी छिन् । घाइते भएकी आमाको सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।
छोरीको सिटी अस्पातलमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अवस्था अहिले गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
तिज मान्न भनी माइत आएका उनीहरु जिल्लामा जारी निषेधाज्ञाका कारण घर फर्किन पाएका थिएनन् । मंगलबार साँझ उनीहरु माइती घरको छिमेकी कहाँ पुगेका थिए । नाता पर्ने गोविन्दको घरमा मोबाइल चार्ज गरी बसेको अवस्थामा माथिबाट ढुंगा आएर घरको छानो टिनसहित उनीहरुलाई च्यापेको स्थानीयले बताए ।









































