गोरखा, शनिबार, ६ असार २०७७ । गोरखा अस्पतालमा उपचार गराईरहेका ८ जना कोरोना जितेर आज घर फर्किएका छन् ।
गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जनालाई डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताउनु भयो । उनीहरुलाई घर गएपछि पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले परामर्श दिएका छन् ।
‘१४ दिन आइसोलेसनमा राख्यौँ, दुई पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिवार घर पठाएका हौँ’ उहाँले भन्नुभयो । १४ दिन आइसोलेसनमा बसेका कुनै लक्षण नदेखिएकालाई थप तीन दिन राखेर घर पठाउने सकिने भएपनि अस्पतालले दुईपटक जाँच गर्दा कोरोना निको भएको पुष्टि भएपछि मात्रै घर पठाएको उहाँले बताउनु भयो ।
आठ जना डिस्चार्ज भएसँगै गोरखा अस्पतालमा १६जना उपचाररत छन् । जिल्लाभर संक्रमितको संख्या ४० पुगेको छ भने आठ जना निको भएर फर्किएका छन् ।









































