गोरखा, १४ चैत २०७६ । कोरोना भाइरस अर्थात (कोभिड १९) ले विश्वब्यापी महामारीको रुप लिइरहेको छ । आजको परिस्थितिमा गोरखामा पनि यस महामारीबाट जोगिन अति आवश्यक रहेको देखिन्छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बिदेशबाट आउने नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्न अति आवश्यक रहेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले आज एक कोरोना भाइरस सम्बन्धी अनुरोध पत्र जारी गर्दै जिल्लामा क्रियाशील विभिन्न सामाजिक संघ सस्था, संचारमाध्यमप्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले धन्यबाद ज्ञापन समेत गरेको छ । साथै, तिनै तहका सरकारले गरेका कार्यमा गोरखा कांग्रेसको पूर्ण साथ सहयोग रहने नेपाली कांग्रेस, जिल्ला कार्य समिति गोरखाका सचिब नन्द प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित कोरोना भाइरस सम्बन्धी अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

कोरोना भाइरस सम्बन्धी अनुरोध पत्रमा भनिएको छ : शंकास्पद बिरामीहरुको परिक्षणमा सरकार चाडो भन्दा चाडो लाग्नु पर्ने र तिनै तहका सरकार गम्भीर भई तयारीमा लग्नुपर्ने गोरखा कांग्रेसले जोड दिएको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न र जोखिम न्यूनीकरण गर्न तथा क्वारेन्टाइनमा रहेका सर्बसाधारणको जीवनयापन सहज बनाउन तिनै तहका सरकारले महत्वपूर्ण भुमिका निर्वाह गर्न अनुरोध गर्दै नेपाल सरकारले चैत १८ गते सम्मका लागि नेपाल लकडाउनको घोषणा गरेसंगै गोरखा कांग्रेसले आम नागरिकलाई अति आवश्यक काम बाहेक घरमा बस्न अनुरोध गरेको छ ।
स्थानीय तहको समन्वयमा भारत लगायत अन्य विभिन्न मुलुकबाट नेपाल आएका व्यक्तिहरुलाई सम्पर्कमा ल्याएर स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन, निगरानीमा राख्न, क्वारेन्टाइनमा राखी सम्भावित संक्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न अनुरोध गरेको छ ।
कोरोना भाइरसको सम्भावित जोखिम सामना गर्नका लागि दक्ष जनशक्ति तयारी अवस्थामा राख्न, आवश्यक उपकरणदेखि आइसोलेसन वार्ड, बैकल्पिक क्वारेन्टाइन र आइसीयु सम्मको अभाब हुन नदिन तिनै तहका सरकारले कार्य गरी गोरखामा भएका जिल्ला अस्पताल गोरखा, आपिपल अस्पताल, जौबारी, आरुघाट, मकैसिङ लगायत अन्य ठाउमा भएका अस्पतालमा आवश्यकता अनुसारका औषधि, उपकरण, जनशक्ति, लगायत आवश्यक सामाग्री व्यवस्थापनका लागि केन्द्र र प्रदेश सरकारबाट सकेसम्म चाडै लिएर स्थानीय तहले कार्य अगाडी बढाउन सबैमा अनुरोध गरेको छ ।

अति आवश्यक खाधान्न लगायत अन्य सामाग्रीमा हुने कालो बजारी, मुल्य बृदिका घटना हुन् नदिन अनुगमनमा पनि ध्यान दिन जरुरी रहेको छ । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने, न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न गोरखा काँग्रेसले अनुरोध गरेको छ ।
विपदको बेलामा हामी तपाईको साथमा रहेका छौ, एकले अर्कालाई सहयोग गरौ, आफु बाचौ र अरुलाई बचाऔ । समस्त नेपाली र गोरखा जिल्लाबासी दाजुभाइ दिदिबहिनी लगायत सम्पूर्णमा कोरोना भाइरसबाट सतर्क रहन नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखा हार्दिक अनुरोध गर्दछ ।









































