गोरखा, १९ फागुन २०७६ । गोरखाको अजिरकोट गाउँपालिकाको गाउँसभा गाउँ कार्यपालिका भच्चेकमा छैठौ अधिवेशन सम्पन्न भएको छ ।

अजिरकोट गाउँपालिकाको छैठौं गाउँसभाबाट आज सम्पन्न भएको यस वर्षको हिँउदे अधिवेशनको रुपमा वसेको गाउँसभाले आर्थिक वर्ष २०७६।०७७ को अर्धवार्षिक प्रगति समिक्षा गर्दै संशोधित वजेट सभाबाट सर्वसम्मतिले अनुमोदन गरेको छ ।
गाउँ कार्यपालिकाको तर्फबाट कार्यपालिका सदस्य तयाराज गुरुङले अर्धवार्षिक भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन छलफलका लागि पेश गर्नुभएको थियो । भौतिक प्रगति तर्फ ८० प्रतिशत आयोजनाहरु सम्झौता भई निर्माण सम्पन्न हुने चरणमा रहेको र १२ प्रतिशत आयोजनाहरु सम्पन्न भई भुक्तानी पनि भएकोछ ।

त्यसैगरी वित्तिय प्रगति तर्फ आ व २०७६।०७७ मा कुल विनियोजित रकम रु ३७ करोड ६७ लाख ९६ हजार मध्य रु १० करोड ७३ लाख ७० हजार ४ सय ७८ रुपैया भुक्तानी भई २८।४९ प्रतिशत खर्च भएकोछ । प्रा:य आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकोले आगामी एक महिना भित्रमा वित्तिय तथा भौतिक प्रगति गुणात्मक तरिकाले वृद्धि हुने अनुमान गरिएको छ ।
विनियोजन हुन वाँकी रहेको रु ३ करोड ६० लाख रकम सामाजिक विकास, भौतिक पूर्वाधार, आर्थिक विकास, विपद् व्यवस्थापन तथा वातावरण संरक्षण र संस्थागत विकास साथै सेवा प्रवाहको क्षेत्रमा विनियोजन गरिएको थियो ।
पाँचौ गाउँसभाले स्वीकृत गरेका आयोजनाहरुलाई यस सभामा संशोधनका लागि पेश गरिएको थियो । संशोधन प्रस्ताव सर्वसम्मतिले अनुमोदन भएको थियो ।

सभाको पहिलो वैठकमा पाँचै वटा वडा अध्यक्षहरुले आफ्नो आफ्नो वडाको विकास तथा सेवा प्रवाहको वारेमा प्रतिवेदन पेश गर्नुभएको थियो भने उपाध्यक्ष चन्द्रमाया गूरुङ्गले न्यायीक समिति र गाउाँपालिका स्तरिय अनुगमन समितिको संयोजकको हैसियतले दुवै समितिको कार्य प्रगति गाउँसभामा पेश गर्नु भएको थियो ।
कर्मचारी अभावमा वडा कार्यालयहरुको कार्यसम्पादनमा कठिन भईरहेकोमा हाल लोकसेवा आयोगबाट सिफारिस भएका वडा सचिवहरुबाट नियमित कार्य गर्न सहज भएता पनि उचित तालिमको अभावले सरल ढंगले कार्य गर्न कठिन भएको कुरा वडा अध्यक्षज्युहरुले राख्नु भएको थियो ।
वैठक विहान ११ वजे शुरु भई दिउसो ५ वजे सम्पन्न भएको थियो । शुन्य समयमा सभा सदस्य ज्युहरुले गाउँपालिकाको विविध विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।









































