पोखरा, ११ फागुन २०७६ । तमु धिं नेपालले आइतवार पोखरा स्वागत तथा सम्मान कार्यक्रम गरेको छ।
हङकङबाट घर बिदामा पोखरा आउनुभएका तमु ट्हो ह्युल हङकङका अध्यक्ष विजयकुमार गुरुङ, महिला विभाग अध्यक्ष कविता गुरुङ, सचिव गीता गुरुङ, युकेबाट आउनुभएका क्वोन÷घोताने÷घोण्डे युकेका महासचिव तथा तमु धिं युकेका साँस्कृतिक सचिव ईन्द्र घोतानेलाई स्वागत र ल्होछार विशेष साँस्कृतिक कार्यक्रमका प्रायोजक तथा सहयोगीहरुलाई सम्मान गरेको हो।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा पाहुनाहरु र प्रायोजकहरुलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमु र कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले खादा, क्रेगी, क्रमु, भाङ्ग्रा र मायाको चिनोसहित सम्मान पत्रले स्वागत तथा सम्मान गर्नुभएको हो।
तमु धिंको स्वागत ग्रहण पश्चात तमु ट्हो ह्युल हङकङका अध्यक्ष विजयकुमार गुरुङले पोखरा आउदा तमु धिं नेपालको स्वागतले आफुहरु समाजसेवामा जुट्न थप प्रोत्साहित भएको भन्नुभयो। उहाँले तमु ट्हो ह्युल हङकङ, हङकङमा रहेको तमुहरुको स्वतन्त्र एवम साझा संस्था भएकाले सबै संघ संस्थासँग सहकार्य र भाइचारा सम्बन्ध राख्दै आएको बताउनुभयो। समाजसेवा भावबाट विदेशी भुमिमा पनि आफुहरु क्रियाशिल रहेको उहाँको दावी थियो। उक्त अवसरमा तमु धिं नेपालले समस्या, पिडा,दैवि प्रकोपमा परेकाहरुलाई तत्काल राहत प्रदान गर्न स्थापित आकस्मिक राहत कोषमा तमु ट्हो ह्युल हङकङको तर्फबाट १ लाख १ हजार १ सय रुपैया तमु धिं नेपाललाई हस्तान्तरण गर्नुभएको थियो। उक्त कोषमा हाल ३६ लाख रुपैया संकलन भएको र व्याजबाट पिडितलाई तत्काल सहयोग गर्दै आएको तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो।
कार्यक्रममा तमु धिं नेपालका केन्द्रीय सदस्य समेत रहनु भएका पोखरा आर एम सी, सेभेन लेक आर एम सीका संचालन सफल व्यवसायी नारायण गुरुङले तमु धिंले वार्षिक रुपमा आयोजना गर्ने ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा व्यवसायीहरुको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। हामी तमु धिं र क्षत्रीय समाजहरुलाई सहयोग गरिरहन्छौं, हामीलाई पनि सेवा गर्ने अवसर दिनुप¥यो भन्ने आग्रह गर्नुभएको थियो। सफल उद्यमी गुरुङले प्रायोजकहरुबाट संकलन गरिएको ४ लाख २५ हजार रुपैयाको चेक निर्माण व्यवसायी अर्जुन थापाले हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले विदेशबाट आउनुभएका पाहुनाहरुलाई स्वागत र ल्होछार विशेष साँस्कृतिक कार्यक्रमका प्रायोजक तथा सहयोगीहरुलाई धन्यवाद दिनुुहुदै सधै सहयोगको अपेक्षा गर्नुभयो। तमु धिं नेपालका गतिविधीहरुको जानकारी गराउनुहुदै देश, विदेशमा रहेका तमु संघ संस्थाहरुसँग सधै संस्थागत सहकार्य गर्ने बताउनुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले पाहुनाहरुलाई स्वागत, नेपालमा बसाई सुखदको कामना गर्दै जहाँ रहे पनि तमु संघ संस्थाहरुको उद्धेश्य र अभियान एउटै भएकाले सहकार्य गरेर तमु धिं अघि बढ्ने बताउनुभयो। तमु सामाजिक संस्थाहरुको छाताभित्र सबैको सहभागीता भई एकता, सामुदायिक पहिचान र अधिकार, समृद्धिका लागि जुट्नुपर्ने बताउनुभयो। समाजसेवा भावनाबाटै आउने भएकाले संस्थाका अगुवाहरु संकुचित बन्नेछैनन भन्ने उहाँको भनाई थियो।
उक्त कार्यक्रमको संचालन महासचिव गिरीप्रसाद गुरुङले गर्नुभएको थियो भने साँस्कृतिक कोष स्थापनाका लागि गतवर्षदेखि शुरु गरिएकोमा यस वर्ष करिब ५ लाख रुपैया बचत भई कोषमा १७ लाख संकलन भएको जानकारी दिनुभयो। उक्त कोषको व्याजबाट ट्होटें, ल्होछार लगायत सँस्कृति संरक्षण अभियानमा तमु धिं नेपालले पहल गर्ने उहाँले बताउनुभयो।
उक्त कार्यक्रममा हङकङका पाहुनाहरुलाई आँधीखोला फेन्सी स्टोर्सका संचालक सुरेन्द्रमान श्रेष्ठले पनि भाङ्ग्रा र क्रमुबाट सम्मान गर्नुभएको थियो।









































