काठमाडौं, ५ फागुन २०७६ । चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सवको आयोजना हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १ स्थित दहचोक, इन्द्रदहमा फागुन ९ गते शुक्रबार उत्सव आयोजना हुन लागेको हो । काजी कालू पाँडेको समाधिस्थल तथा एकसय गन्तव्यभित्र सूचिकृत ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीयस्थल इन्द्रदह परिसरमा हुने चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । उत्सव तयारीको लागि प्रचारप्रशार र सरसफाइ कार्य तीब्र गतिमा भइरहेको छ ।
बि स २०५५ सालमा तत्कालिन नेपाल सरकारले नेपाल भ्रमण वर्ष १९९८ मनाउने क्रममा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दहचोकमा पहिलो पटक उत्सवको उद्घाटन गर्नुभएको थियो ।
नेपाल सरकार सस्कृति तथा पर्यटन मन्त्रालयले सन् २०२० लाई मध्यनजर गर्दै पूर्वाधार विकासका सय वटा गन्तव्य मध्ये पहिचानको सूचिमा दहचोक इन्द्रदह पनि राखेको छ । दहचोकको सम्बन्ध प्राचीनकाल देखि शाहकालसम्म उच्च रुपमा रहेको पाइन्छ ।
गोर्खा राज्यविस्तारको क्रममा राजा पृथ्वीनारायण शाहले कीर्तिपुर विजयको लागि वा काठमाडौंलाई घेर्ने रणनीति अन्तरगत दहचोकलाई केन्द्रविन्दु बनाई फौजी अभियान चलाएको पाइन्छ ।









































