पर्वत, २८ पौष २०७६ । पर्वतमा प्रहरीद्वारा स्थानीय तहलाई प्रशंसा पत्र हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय-प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा पर्वत जिल्ला स्थित रहेका स्थानीय तहहरुले सहभागिता, सहकार्य र साझेदारीको रुपमा पुर्याएको योगदानको उच्च कदर गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट प्रदान गरिएको प्रशंसा पत्र बितरण गरिएको हो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला प्रहरी कार्यालय पर्वतको सभाहलमा आयोजना गरिएको एक विशेष कार्यक्रमका अवसरमा पर्वत जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिका प्रमुखहरुलाई हस्तान्तरण गरिएको थियो ।
पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षता साथै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउपालिका अध्यक्ष रामकृष्ण मल्ल, मोदी गाउँपालिका अध्यक्ष प्रेम प्रसाद शर्मा, विहादी गाउँपालिका उपाध्यक्ष डम्मर कुमारी गुरुङ लगायतका जनप्रतिनिधिहरुलाई उक्त प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो ।
प्रशंसा पत्र हस्तान्तरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले समुदाय र प्रहरीको सामुहिक संकल्पबाट मात्रै कुनै पनि समाजले शान्ति सुरक्षा युक्त विकास र समृद्धिको मार्ग तय गर्ने बताउँदै समाजको हरेक पक्षको सहयोग बाट नै आज समुदाय प्रहरी साझेदारीको अवधारणा प्रभावकारी रुपमा कार्यान्वयनमा आएको कुरा बताउनुभयो ।
साथै, सोही अवसरमा जिल्ला स्थित समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी संग साझेदारी गरी यसको परिकल्पनालाई जनता सम्म पुर्याउन सहयोग गर्ने विभिन्न स्थानीय निकायका प्रमुखहरु प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिन समेत निरन्तर सहकार्यको अपेक्षा रहेको समेत बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला स्थित स्थानीय तहहरुले निर्वाह गरेको भूमिका प्रति प्रशंसा गर्दै यसबाट प्रहरी कार्य सम्पादनमा सहजता आई जिल्ला स्थित शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन प्रहरी सफल भएको बताउनु भयो ।
कार्यक्रममा बोल्नु हुँदै स्थानीय जनप्रतिनिधिहरुले नेपाल प्रहरीले समुदायमा अपराध नियन्त्रण एवं जनतामा शान्ति सुरक्षाको अनुभुती गराउन सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी अभियानले सबै सरोकारवाला निकायलाई अपराध रहित समाज निर्माण गर्न जवाफदेही बनाएको र यसको संयुक्त प्रयासबाट यस अभियानले समेत सार्थकता पाईरहेको धारणा व्यक्त गर्नुभयो ।
सोही अवसरमा पर्वत जिल्लाको शान्ति सुरक्षाको अवस्था र विद्यमान चुनौतीहरुको विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।









































