पोखरा, २८ पौष २०७६ । पोखरामा विद्युतीय अपराध रोक्न नेपाल प्रहरीलाई तालिम प्रदान गरिएको छ ।
शान्ति सुरक्षा तथा अमनचयनको प्रमुख वाधकको रुपमा पछिल्लो समय देखापरेको विद्युतीय अपराधहरुलाई प्रविधिको माध्यमबाट रोक्दै यसबाट हुनसक्ने सम्भावित खतराहरुलाई आकलन गरी यस विरुद्ध विशेष कार्ययोजना तयार पार्न गण्डकी प्रदेश अन्तर्गत पहिलो चरणमा ३२ जना प्रहरी कर्मचारीहरुलाई विधुतिय अपराध सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।
गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा मेरित पोखराको संयोजनमा गण्डकी प्रदेश प्रहरी कार्यालयको समर्थनमा तालिम प्रदान गरिएको हो ।
पछिल्लो समय देश विदेशबाट नेपालको साइबर स्पेसमा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम बढेसंगै सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्स लगायतका कम्पनीका सिष्टममा अझै आक्रमण भइरहेका छन् भने नेपालमा समेत यसंग सम्बन्धित विभिन्न घटनाहरु दिनानुदिन बढिरहेका छन् ।
यस प्रकारका घटनाहरु विरुद्ध लड्न दक्ष प्रावधिक प्रहरी जनशक्ती उत्पादन गरी नेपालको साईबर सेक्युरिटीको संरचनालाई मजबुत बनाउन सहभागी प्रहरी कर्मचारीलाई साईबर अपराध सम्बन्धि विभिन्न महत्वपुर्ण विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हरि बहादुर चुमानले साईबर अपराधलाई नियन्त्रण गर्न अब यस सम्बन्धि केन्द्रिय प्रणालिलाई बिकेन्द्रिकरण गरि यसको प्रभावकारी संरचना स्थापना र दक्ष जनशक्ती उत्पादन गर्नु आजको प्रमुख आवश्यक्ता रहेको बताउनु भयो ।
उक्त कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा,इण्टरनेट फ्रड, लगायतका साइबर अपराधहरु विरुद्ध नेपाल प्रहरी संगठनले शुन्य सहनशिलताको निती अपनाई दोषिलाई कानुनी कारवाही गरिरहेको बताउदै यस्ता तालिमहरुले दक्ष प्रहरी जनशक्ती उत्पादन गरि साईबर अपराधलाई रोकथाम गर्न मदत पुग्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।









































