गोरखा, ५ मङ्सिर २०७६ । गोरखा नगरपालिका क्षेत्र अन्तर्गतका विभिन्न स्थानमा नगर बस विधिवत रुपमा आजबाट संचालन भएको छ ।
आज एक समारोहका बिचमा गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले उद्घाटन गर्नु भएको थियो ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रा लि बीच सम्झौता भएर नगरपालिका भित्रका ११ रुटमा बिहिवार बिहान १० बजेदेखि नगरबस संचालनमा आउन लागेको हो ।
घलाङ–नारेश्वर हुँदै नगरपालिकाको कार्यालय, छापथोकबाट नगरपालिका, नगरपालिकाबाट फिनाम ताप्ले हुँदै छापथोक, छेपेटारबाट नगरपालिका कार्यालयमा रुट निर्धारण गरिएको छ ।
त्यसैगरी, देउरालीबाट नगरपालिका कार्यालय, ढुङ्गागाढे आहाले कट्टेलडाँडा हुँदै नगरपालिका कार्यालयसम्म रुट तोकिएको छ । यी रुटबाट बिहान ८ देखि नौ बजे भित्रमा गाडी छुटिसक्नेछ भने नगरपालिकाबाट ४ बजेदेखि ४ः३० सम्म फर्किनेछ । बाँकी पाँचवटा रुटमा भने घुम्ति सेवा चलि रहने छ ।
गोरखकाली दरबार, सतिपिपल पस्लाङ रोहोटेपानी हुँदै नगरपालिका कार्यालयसम्म, पिपलथोक, पन्थेश्वाँरा, रानीबन हुँदै नगरपालिका कार्यालय, गोरखा बजार निरन्तर परिक्रमा हुनेछ । मान्द्रेढुङ्गा गोरखा क्याम्पस खिरेपानी हुँदै नगरपालिका कार्यालय र नगरपालिकाबाट बसपार्क नारेश्वर मेलबिसौनी हुँदै डेरागाउँ फिनाम हुँदै नगरपालिका घुम्ती बस पनि चल्नेछ ।
उक्त रुटमा भाडा पनि निर्धारण गरिएको छ । समितिले अहिले लिईरहेको रुट पर्नेठाउँहरुमा भाडा घटाएर लिने बताएको छ ।
यात्रुले गोरखा बजार क्षेत्रमा तीन किलोमिटरभित्र सवारी चढेपछि १५ रुपैयाँले तिरे पुग्छ । नगरपालि कासँग भएको सम्झौतामा नेपाल सरकारले कायम गरे भन्दा धेरै भाडा लिन नपाउने उल्लेख छ ।
समितिले गोरखाबाट (फिनाम सम्म ३५ रुपैयाँ, गोरखाबाट कोखे आहाले ५०, गोरखाबाट डेरागाउँ ४०, झिंगटे ७०, गोरखाबाट नारेश्वर ४०, गोरखाबाट देउराली ५५, गोरखाबाट आँपचौर ६०, गोरखाबाट पढेँनी चौतारा ६५, होलसिंङ ७० गोरखाबाट छेवेटार ६० र गोरखाबाट देउराली १३० कायम गरेको छ ।









































