पोखरा, ३० कात्तिक २०७६ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पत्रकारहरुले वस्तुवादी र तथ्यपरक लेख्नुपर्नेमा जोड दिएका छन् । लेख्ने कुरामा डराउन नहुने तर त्यो सत्य र वास्तविक हुनुपर्ने उनको भनाई छ ।
शनिबार संसदीय पत्रकार मञ्च गण्डकीको प्रथम वार्षिक साधारणसभाका प्रमुख अतिथी रहेका सभामुख अधिकारीले संसदीय सूचनामा कुनै कमी नहुने बताए ।
“संसदीय मामिलाका कुनै पनि गतिविधी भूमिगत हुँदैनन्, सबै सूचना लिन कुनै कठिनाई छैन् । तपाईहरुको सूचना वस्तुवादी होस्, सम्प्रेषण एकदम यथार्थपरक, तथ्यपरक र अनुसन्धानमूलक होस,” उनले भने । तर, गण्डकी प्रदेशसभाको संरचना भने मिडियामैत्री नरहेको उनले स्विकारे ।
“व्यवस्थापकीय हिसाबले हाम्रो प्रदेशसभा सबै संरचनामा पूर्ण छ भन्ने होइन, हामीले अन्य प्रदेशको पनि अवलोकन गर्यौं । धेरै कुरामा हाम्रो प्रदेश सक्षम छैन्, पत्रकारहरुको माग, समस्या गुनासो छ । सबै दिन सकेका छैनौँ । यसमा हिनताबोध पनि लाग्छ,” अधिकारीले भने ।
संसदीय पत्रकारितामा कृयाशिल सञ्चारकर्मीलाई व्यवस्थित रुपमा समाचार संकलन गर्ने वातावरण निर्माणका साथै क्षमता अभिबृद्धि लगायतका विषयमा गण्डकी प्रदेश सभाका तर्फबाट सक्दो सहयोग गर्ने उने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको हक हितका साथै क्षमता अभिवृद्धि लगायतमा महासंघ क्रियाशील बन्ने र सहकार्य गर्न तयार रहेको बताए ।
संसदीय पत्रकार मञ्चका अध्यक्ष लालप्रसाद शर्माले गण्डकी प्रदेशमा संसदीय समाचार संकलनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ मञ्च गठन भएको बताउँदै एक वर्षको अवधिमा क्षमता अभिवृद्धि तालिम, विभिन्न साक्षत्कार, प्रदेश नं ३, २ र १ को अवलोकन भ्रमण लगायतका काम गरिएको जानकारी दिए ।
साधारण सभाले सचिव विशन क्षेत्रीले प्रस्तुत गरेको वार्षिक प्रतिविदेन र कोषाध्यक्ष रोहितराज पराजुलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
त्यस्तै, साधारणसभाले संसदीय पत्रकार मञ्चको सदस्यता बृद्धि गर्ने सम्बन्धमा केशवशरण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वासुदेव पौडेल र सदस्य सचिवमा विशन क्षेत्री रहेका छन् ।









































