गोरखा, २० कात्तिक २०७६ । हिमालसँग सधैँ रमाउन चाहन्छिन्, पूर्णिमा श्रेष्ठ । गोरखा, आरुघाट घर भएकी उनी पेसाले फोटो पत्रकार हुन् । तर, त्यही पेसामा मात्रै आबद्ध हुन चाहन्नन् उनी । सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी उनले गत आइबार ६,८१२ मिटर उचाइको आमादब्लम हिमाल चढिन् । यति बेला उनलाई शुभकामनाको ओइरो लागेको छ । उनी भन्छिन्, ‘अहिले मलाई आफन्तको बधाई र शुभकामना स्विकार्दै ठिक्क छ। मेरो फेसबुक वाल हेर्नु त !’ हुन पनि उनको फेसबुक वाल बधाईले भरिएको छ ।
उनले मनास्लु हिमालको समेत आरोहण गरिसकेकी छिन् । विभिन्न हिमालको सफल आरोहण गर्दै गएपछि हिमालप्रतिको प्रेम र थप आरोहण गर्ने ऊर्जा बढिरहेको उनी बताउँछिन् । ‘नेपाल हिमालै हिमालले भरिएको छ,’ उनी भन्छिन्, ‘यी हिमालको काखमा रमाउन धेरै मन पर्छ। मेरो नशा नै भइसकेको छ ।’
सगरमाथाको आरोहणभन्दा आमादब्लमको आरोहण चुनौतीपूर्ण र रोमाञ्चक भएको उनको अनुुभव छ । उनी भन्छिन्, ‘सगरमाथा चढ्दा यति धेरै गाह्रो भएको थिएन। आमादब्लम आरोहण गर्दा टेक्निकल्ली पनि असहज भयो । सबै हिमालमा आरोहण गर्नु त्यति सजिलो रहेनछ। तर, मैले हार खाइनँ । आमादब्लम हिमालको आरोहण गरेरै छाडेँ ।’
उनले सफलतापूर्वक आमादब्लम हिमालको आरोहण गर्न सकेकामा खुसी व्यक्त गरिन् । अरुबाट पाएको सम्मान र हौसलाले उनी झनै अघि बढ्नमा प्रेरणा मिलेको सुनाउँछिन् । हिमालको शिरमा नेपालको झन्डा फर्फराउन पाउँदा छुट्टै नेपालीपनको आभास हुने गरेको उनी सुनाउँछिन्। उनी भन्छिन्, ‘यसरी हिमालको चुचुरोमा पुग्न सक्छु भनेर कहिल्यै सोचिनँ। किनभने, त्यो मेरा लागि महँगो आकांक्षा थियो । तर, आरोहण गर्दै जाँदा अहिले यसैमा रमाइरहेकी छु ।’
हिमालको आरोहणपछि देशको पूर्वदेखि पश्चिमसम्मका प्राकृतिक सौन्दर्य र सम्पदा हेर्ने रहर छ उनलाई । उनी भन्छिन्, ‘प्राकृतिक सौन्दर्यले भरिएको देश हो हाम्रो। यिनीहरुको अवलोकन गर्ने रहर छ मलाई । ’नागरीकको साथमा









































