गोरखा ९ कात्तिक २०७६ । गैर आवासिय नेपालीसंघ (एनआरएनए) का नवनिर्बाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकका भुकम्प पिडितहरुले आउदो २ महिना भित्र घर पाउने बताउनु भएको छ ।
उहाँले भुकम्पपछि निर्माण भईरहेको एकिकृत नमुूनाबस्ती निर्माणको कामबाट आफुहरुले हात नझिकेको बताउनुभएको छ । गोरखा सदरमुकाममा आज पत्रकारहरुसंगको भेटघाटमा अध्यक्ष पन्तले गुप्सीपाखामा निर्माणाधिन एकिृकत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगी सकेको भन्दै अबको दुई महिना भित्र निर्माणको काम सम्पन्न हुने बताउनु भएको हो ।
‘लाप्राकको गुप्सीपाखामा एनआरएनएले निर्माण अघि बढाएको नमूनाबस्ती निर्माणको कामबाट पछि हट्ने भन्ने कुरै हुदैन, उहाँले भन्नुभयो, हामीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसंग सम्झौता गरेका छौ, सम्झौता अनुसार काम सम्पन्न गछौ ।’ अध्यक्ष पन्तले लाप्राकको नमूनाबस्ती निर्माणका क्रममा त्यहाँ स्थानिय उपलब्ध गराउनु पर्ने केही सामाग्री उपलब्ध गराउन ढिलाई भएका कारण पनि पुनःनिर्माणको काममा ढिलाई भइरहेको बताउनुभयो ।
एकिकृत नमुनाबस्तीमा पर्खाल लगाउने लगायतका अन्य केही भौतिक संरचना निर्माण बिषयमा पनि छलफल भइरहेको भन्दै उहाँले बस्तीको बिचमा सडक निर्माणको लगायतका केही बिषयमा अहिले प्राधिकरणसंग कुराकानी गरिरहेको बताउनुभयो । ‘प्राधिकरणसंग भएको सम्झौता अनुसार केहीघरहरुमा तला छाप्ने काम बाँकी छ, अध्यक्ष पन्तले भन्नुभयो, ‘शौचालय निर्माणको कामपनि लगभग अन्तिम चरणमा छ, ७० ओटा घरको शौचालय निर्माण भईसक्यो भने ३ सय वटा घरका लागि खाल्डो खनेर डिपिसीको काम सकिएको छ ।’
उहाँले अबको दुई महिना भित्रमा लाप्राकमा एकिकृत नमुना बस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसंग सम्झौता भए अनुसार गैह्रआवासिय नेपाली संघलाई दिएका सवै जिम्मेबारीहरु पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‘निर्माणको काम छोडेर हिड्ने भन्ने कुरै हुदैन, अध्यक्ष पन्तले भन्नुभयो, हामी हाम्रो सवै जिम्मेवारी पुरा गरि काम सकेर छिटो भन्दा छिटो हस्तान्तरण गर्ने प्रक्रियामा छौ ।’
अध्यक्ष पन्तले संघले गाउँपालिकासंग गरेका सम्झौता अनुसार लाभग्राहीले उपलब्ध गराउने भनिएको काठ तथा शौचालय निर्माणका लागि खाडल छिटो खन्नका लागि सहयोग गरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । ‘लाभग्राहीले शौचालय निर्माण आफै सम्पन्न गर्न चाहानुहुन्छ भनेपनि एनआरएनएले एकमुष्ट त्यही बराबरको रकम उपलब्ध गराउने बिषयमा पनि गाउँपालिकासंग छलफल भइरहेको छ ।’ उहाँले भन्नुभयो ।
त्यसका लागि आउदो एकहप्ता भित्रमा गाउँपालिकाले शौचालय निर्माणका लागि आवश्यक खर्च रकमको स्टमेट तयार आफुहरुलाई बुझाउने सहमती भएको अध्यक्ष पन्तले बताउनुभयो । त्यस्तै बस्तीमा पर्खाल निर्माण र बिच बिचमा सडक निर्माणका लागि आबश्यक पर्ने अनुमानित रकम निकाल्न गाउँपालिका र एनआरएनएबाट समेटेर समिति निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।









































