गोरखा, १० असोज २०७६ । जीवन ज्योति मा वि का बाल क्लबका अध्यक्ष निशा श्रेष्ठको अध्यक्षतामा, पालुङ्टार नगरपालिकाका नगर प्रमुख ई दिपक बाबु कंडेलको प्रमुख आथित्यतामा पालुङ्टार नगरपालिका वडा नं ७ स्थित जीवन ज्योति माध्यमिक विद्यालयका ४ विद्यार्थीहरुलाई तुलसीमान स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ ।
नेपालीहरुको महान् चाड शुभ विजया दशमीको पवन अवसरमा बिद्यार्थीहरुद्धारा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो ।
जीवन ज्योति माध्यमिक विद्यालयकाकक्षा ८ बि का दिबस कुमाल, कक्षा ९ ए का गणेश कुमाल, कक्षा ६ ए का टेक घले र कक्षा ७ का नवीन कुमाल सम्मानित भएका हुन्र । सम्मानित बिधार्थी चारै जनालाई ५ हजार नगद राशीसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
स्वर्गीय तुलसीमान श्रेष्ठले वि सं २०३० देखि २०३५ सालसम्म र २०४४ सालदेखि २०४६ सालसम्म गरी २ पटक उक्त विद्यालयको प्रधानाध्यापकको रुपमा कार्य गरी महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको थियो । आफ्ना स्वर्गीय पिताले योगदान गर्नु भएको विद्यालयमा केही गरौै भन्ने भावनाअनुरुप उक्त पुरस्कार वितरण गरिएको र हरेक बर्ष यसलाई निरन्तरता दिने श्रेष्ठका छोरा निरज श्रेष्ठले जानकारी दिनुभयो ।
पुरस्कार वितरणका क्रममा पालुङ्टार नगरपालिकाका नगर प्रमुख ई दिपक बाबु कंडेलले आजका विद्यार्थी नै भोलिका भविष्य भएको र उनीहरुले चाहेको खण्डमा समाज तथा राष्ट बदल्न सक्ने बताउनुभयो ।
उक्त कार्यक्रमका बिशेष अतिथि पालुङ्टार नगरपालिका वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे, सहायक प्रधानाध्यापक तारा बहादुर कुमाल लगायतकाले मन्तव्य राख्नु भएको थियो भने विद्यार्थीहरुले आ-आफ्ना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।









































