देवघाट, १० भाद्र २०७६ । देवघाट गाउँपालिका १ कोटाको गोपीटारमा आकर्षक घुमाउने घर निर्माण गरिएको छ । ग्रामिण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले गन्डकी प्रदेश सरकारको होमस्टे प्रर्वद्धन कार्यक्रम अन्तर्गत सो घुमाउने घर निर्माण गरिएको हो ।
उक्त घर निर्माणकोलागि प्रदेश सरकार मार्फत दुई पटक गरि १५ लाख रुपैयाँ विनियोजन भएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनु भयो ।
कुल २० लाख लागतको सो घुमाउने घर निर्माणमा अपुग रकम स्थानीय बासिन्दाले श्रमदान गरेको गोपीटार सामुदायिक होमस्टेका अध्यक्ष हिरा गुरुङले जानकारी दिनुभयो ।
लोप हुँदै गईरहेको घुमाउने घरको संरक्षण गर्न तथा पर्यटकलाई आकर्षित गर्न उक्त घर निर्माण गरिएको गुरुङले बताउनु भयो । त्यसैगरी घुमाउने घरसँगै व्यवस्थित शौचालय पनि निर्माण गरिएको छ । सोको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा खटिएका युवाहरु परिचालन गरिएको वडा नम्बर १ का अध्यक्ष भिम गुरुङले बताउनु भयो ।
शौचालय बनाउन मात्र २ लाख ५० हजार रुपीयाँ खर्च भएको वडा अध्यक्ष गुरुङले बताउनु भयो । गुरुङ संस्कतीमा आधारित उक्त घुमाउने घरमा पर्यटकलाई आकर्षित गर्न गुरुङ संस्कृतीका सबै बस्तुहरु राखिने होमस्टेका अध्यक्ष गुरुङले बताउनु भयो ।
उक्त घरको प्रचार प्रसार गर्न सकेमा देवघाट घुम्न आउने पर्यटकहरुलाई गोपीटार सम्म ल्याउन सकिने र ग्रामिण क्षेत्रको पनि पर्यटन प्रर्वद्धन गर्न सकिने गुरुङको भनाई छ ।









































