तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐना पहरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टि गरेको छ ।
उक्त यात्रुवाहक बस मर्स्याङ्दी नदीमा भिरमा खसेको हो । बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएका छन् ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भिर रहेको बताइएको । बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ ।








































