गोरखा, ९ बैशाख २०७६ | बि स २०७२ बैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर बिनाशकारी भूकम्प गएको ४ वर्ष पुरा हुँदै छ । जिल्लाका ४ सय ७२ सर्वसाधारणको ज्यान जाने गरी भएको भूकम्पमा हजारौं घाइते हुनुका साथै ठुलो धनजनको क्षति भएको थियो ।
भूकम्पमा पनि ७० हजार ९ सय ८८ घर भत्किएका छन् । ति मध्ये हाल सम्म ४८ हजार १ सय ९६ घर मात्र निर्माण सम्पन्न भएका छन् । लाभग्राहीको सुचीमा समावेश भएका मध्ये पनि ७ हजार २ सय १८ जनाले अहिले सम्म पहिलो किस्ता नै बुझेका छैनन् । ५ हजार ३ सय प्रवलीकरण लाभग्राहीको सूचीमा छन् । प्रवलीकारणमा नाम समावेश भएका मध्ये १३ सयले मात्र अनुदान सम्झौता गरेका छन् ।

गोरखामा हालसम्म ७० प्रतिशत मात्र घर बनेका छन् । उता केन्द्रबिन्दु बारपाकको प्रगती भने निकै राम्रो देखिएको छ । त्यहाँ ८५ प्रतिशत भन्दा बढि घर निर्माण सकिएको बारपाक सुलिकोट गाउँपालिको जानकारी दिएको छ ।‘हामी कहाँ ८५÷८६ प्रतिशत घर बनिसकेका छन’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने ‘सार्वजानिक पूर्वाधार पुर्ननिर्माणको काम पनि सन्तोजनक नै छ ।’ भूकम्प स्मृति दिवश नजिकै गर्दा पुनः केन्द्रबिन्दु बारपाकले राष्ट्रिय स्थानीय सञ्चारमाध्यममा उच्च प्राथमिकता पाएको छ ।
नजिकै गरेको बैशाख १२ गतेलाई लक्षित गरि बारपाक सुलिकोट गाउँपालिकाले पनि विशेष कार्यक्रम गर्ने तयारी गरेको छ । ‘भूकम्प ज्यान गुमाएकाहरुको सम्झना गर्दै त्यो त्रासदीपुर्ण दिनबाट केही सिक्न सकिन्छ की भनेर विगतमा जस्तै यस वर्ष पनि कार्यक्रम आयोजना गरेका हौ’ उनले भने ‘त्यसले हामीलाई विपद्बाट सधै सचेत रहनुपर्छ भन्ने पाठ सिकाउनेछ भन्ने विश्वास छ ।’ विगतका वर्षमा जस्तै यस वर्ष पनि स्मृती दिवशका दिन भूकम्प ज्यान गुमाएकाहरुको स्मृतिमा केन्द्रबिन्दु बारपाकमा कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संबोधन गर्ने तय भएको छ ।
भूकम्पको केन्द्रबिन्दु बारपाकमा निजि घरहरुसँगै विद्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी भवन लगायतका सार्वजानिक संरचना पनि निर्माण भइसकेको उनले दाबी गरेका छन् । भूकम्प स्मृति पार्कको काममा केही ढिलाई भएपनि अब त्यसलाई तिब्रता दिन पहल गर्ने भट्टको भनाई छ ।









































