नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको नियुक्ति प्रक्रिया सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्रिविको बेथिति अन्त्य गर्न सरकारको योजना माग गरे ।
उनले भने- त्रिविको पदाधिकारीको नियुक्ति प्रक्रिया के हो संसद्लाई जानकारी गराउनुपर्छ । मापदण्ड र आधार के हो ? त्रिविमा जुन ढंगको बेथिति भइरहेको छ त्यो अन्त्य गर्न सरकारको योजना के हो ?
उनले शिक्षामन्त्री सुमना श्रेष्ठलाई त्रिविमा राजनीतिक रंग कहिले अन्त्य हुन्छ ? भन्दै प्रश्न गरे।
उनले भने- त्रिभुवन विश्वविद्यालयलाई आमूल परिवर्तन गर्छु राजनीतिको र पनि प्रवेश गर्न दिन्न भन्ने हाम्रो माननीयज्यूले नेतृत्व गरिरहेको त्रिविले अहिले कसरी गुज्रिरहेको छ ? नियुक्तिको प्रक्रिया हिजो र आजमा के फरक छ ? राजनीतिक रंग पनि पर्न नदिने भनिरहँदा नियुक्तिको प्रक्रियामा त अहिले राजनीतिकको रंगले नै पोतिएको देखियो।
उनले त्रिविबाट उत्तर पुस्तिका हराउनेहरूलाई कारबाही गर्न माग गरे।
सांसद पौडेलले भने- त्रिविको उत्तर पुस्तिका आज मात्रै होइन यो भन्दा अगाडि पनि हराएको छ। कसले लगेको त्यहाँ रेकर्ड हुँदैन ? लगेको मान्छेलाई दण्डित गर्ने, लगेको प्रमाणित गर्नेलाई दण्डित गर्ने, अनि त्यस्तो प्रशासनको नेतृत्व गर्नेलाई दण्डित नगरेर अहिलेसम्म के हेरेर बसेको ? दुई वर्षअघि दिएको परीक्षाको कपी हरायो, कपी विद्यार्थीले हराएको हो ? अनि जसले कपी हरायो उसले जिम्मेवारी लिँदैन । दुई वर्षपछि एकै पटक पर्सिदेखि जाँच भनेर सूचना निस्कन्छ । कपी हरायो ? एकै पटक परीक्षा दिन आउन भनेर फेरि विद्यार्थीले पास गर्न सक्छ ?









































