पोखरा, शुक्रबार, २३ पौष २०७८ । आज शुक्रबार थप २४ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरिने भएको छ । एकैपटक ठूलो संख्यामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँँगै खुकुलो पारिएका गण्डकीका नाकाहरुमा पुनः कडाइ गरिने भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ, मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मासहितको शुक्रबार बसेको बैठकले ओमिक्रोन नियन्त्रण गर्न तत्कालन आवश्यक तयारी थाल्ने निर्णय गरेको हो । बैठकमा हालै भइरहेका सबै प्रकारका मेला महोत्सव समेत बन्द गर्न सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयका सचिव विनोदविन्दु शर्मालाई मन्त्री गुरुङले निर्देशन दिनुभयो ।
बैठकमा मन्त्री गुरुङले ओमिक्रोन नियन्त्रणका लागि नाकामा जाँच तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन अक्सिजन सिलिन्डरलगायत तयारी अवस्थामा राख्न निर्देशन समेत दिनुभयो ।
बैठकमा मन्त्रालयका सचिव शर्माले ओमिक्रोन फैलिने देखिएमा स्मार्ट लकडाउनमा जान सकिने सुझाव राख्दै ‘मानिसको स्वास्थ्यभन्दा ठूलो अरु कुरा नभएकाले आवश्यक परे स्मार्ट लकडाउनसम्म पनि जान पर्ने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो ।
- ADVERTISEMENT -
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा शुक्रबारसम्म १ सय ७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये १ सय १५१ जना संक्रमित होम आइसोलेसनमा छन् भने बाँकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् । गण्डकीमा हालसम्म एक हजार ४२७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
गण्डकीमा पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ जना निको भएका छन् । तथ्यांकअनुसार गण्डकीमा सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् । कुल सक्रिय संक्रमितमध्ये कास्कीमा मात्रै १ सय २७ जना सक्रिय संक्रमित छन् ।
गण्डकीका मनाङ, मुस्ताङ र गोरखा गरी ३ जिल्ला संक्रमित शून्य भई ‘ग्रिन सिग्नल’ पाउँदा भारतसँग सीमाना जोडिएको नवलपुरमा १९ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ओमिक्रोन प्रभावित छिमेकी देश भारतसँग सीमा जोडिएको नवलपुर नाकाना एक हजार बेडको आइसोलेसन निर्माण गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा हालसम्म १८ वर्षमाथि उमेर समूहका ९१ प्रतिशत नागरिकले पहिलो डोज लगाउँदा ७५ प्रतिशतलेमात्रै दोस्रो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । त्यस्तै, १२ देखि १७ वर्ष उमेर समूहका नागरिकले भने जम्मा ३ प्रतिशत खोप पाएका छन् ।
प्रदेशमा ओमिक्रोन भेरियन्ट हालसम्म पुष्टि नभए पनि सतर्कता अपनाउने बेला आइसकेको निर्देशनालय निर्देशक डा खिमबहादुर खड्काले जानकारी दिनुभयो । ‘गण्डकीमा हालसम्म ओमिक्रोन भेटिएको छैन । तर, भेटिएजस्तै हो । सतर्क हुनुपर्नेबेला भइसक्यो,’ उहाँले भन्नुभयो ओमिक्रोन भेरियन्टसँग जुध्न गण्डकी सुरुदेखि नै सम्पूर्ण स्रोत र साधन तयारी अवस्थामा रहेको उहाँले बताउनु भयो ।