हटाैँडा,१० कात्तिक २०७८ । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छिन् ।
विश्वासको मत लिनका लागि बुधबार बसेकाे प्रदेशसभाको बैठकमा उनले मत विभाजनअघि नै राजीनामा भन्ने शब्द प्रयाेग नगरी मार्गप्रशस्त गर्ने घोषणा गरिन् । उनले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार राजीनामा घोषणा गरेकी हुन् । आफ्नो पार्टीको बैठकको निर्णयअनुसार आफूले नयाँ सरकारका लागि मार्गप्रशस्त गरेको बताइन् ।
उनले संसदमा बोल्दै आफूले सरकारमा रहँदा राम्रो काम गर्नका लागि प्रयत्न गरेको बताइन् । प्रदेशमा बसेर मुख्यमन्त्रीका नाताले अल्पमतमा रहे पनि आफूहरूले छोटो समयमा राम्रो काम गरेको उनको दाबी छ । ‘सरकारका लागि प्रतिपक्षीको पनि साथ रह्यो । जे जस्तो काम गरियो । सबैको साथ सहयोगल गरियो’, मुख्यमन्त्री शाक्यले भनिन् ।
मुख्यमन्त्री शाक्यले महिलामैत्री सरकार बनाउन सबै मन्त्रालयमा बडापत्र राखिएको बताइन् । महिला हिंसाविरुद्ध सरकार सचेत हुनुपर्छ भन्दै आफूले पाइला चालेको बताइन् । समाजवादको सुशासनको लक्ष्य लिएर अवधारणा तयार गरेर योजना आयोगमार्फत अघि बढाइएको छ । उपलब्धिमूलक काम गर्नका लागि मन्त्री, नेता, प्रदेशसभाका सदस्य सबैलाई धन्यवाद पनि उनले व्यक्त गरिन् ।
एमालेको एकल बहुमतका आधारमा शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना सांसदको समर्थन दाबी गर्दै मुख्यमन्त्री नियुक्त भएकी शाक्य पार्टी विभाजन भई १३ जना सांसद नेकपा (एकीकृत समाजवादी)मा लागेपछि अल्पमतमा परेकी हुन् । अहिले एमालेका ४३ जना मात्र सांसदको साथ रहेकाले उनले विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि राजीनामा दिएकी हुन् ।









































