गण्डकी, २६ असोज २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोनाका समयमा पनि भइरहेको निर्माणले आँफुलाई खुसी लागेको बताउनुभएको हो ।

विमानस्थल सञ्चालनमा ल्याउन समस्याका रुपमा रहेको विमानस्थलको दक्षिणतर्फस्थित रिट्ठेपानी डाँडा काट्ने काम अघि बढाउन सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको भौतिक प्रगतिप्रति म खुसी छु, डाँडा कटानका लागि सरकारले सहजीकरण गर्छ ।”

प्रधानमन्त्री देउवालाई पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आयोजना निर्देशक प्रदीप अधिकारीले हालसम्मको भौतिक प्रगति तथा निर्माणका क्रममा आइपरेका समस्याका बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

पूर्ववत् सम्झौताअनुसार गत साउनमा सम्पन्न हुनुपर्ने उक्त आयोजना विश्व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित समयमा पूरा हुन नसकेको हो । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।

विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग (रनवे) गत वर्ष नै सम्पन्न भएको थियो । टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर लगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत तथा उपकरण जडान गर्ने काम भइरहेको छ ।

यसैगरी ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य प्रवेशद्वारको सडक निर्माण सम्पन्न भएर सडकको बीच भागमा सडक बत्ती जडान गरिएको छ ।

जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइन्छ । विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु २२ अर्बको लगानीमा चीनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि विसं २०३१ मा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्