काठमाडौं, भदौ १८ गते । अन्तर्राष्ट्रिय उडानको सङ्ख्या दैनिकजसो बढ्दो क्रममा रहेकाले नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बुधबार मात्र १० वटा वायुसेवा कम्पनीले २८ वटा उडान गरेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क छ ।
अन्तर्राष्ट्रिय उडानहरु धमाधम थपिन थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो । मंगलबार मात्र १० वटा जहाज कम्पनीले ३० उडान भरेका थिए भने बुधबार पनि २८ वटा उडान भएका थिए । यसअघि कार्गो र सीमित मात्रामा उडान हुने गरेपनि पछिल्लो दुई साता यता उडान तालिकामा बृद्धि भएको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।
हाल नियमित उडान भर्नेमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्सहरुमा कतार एयर, जजिरा, फ्लाइ दुवई, एयर अरविया, सलम एयर, श्रीलंकन एयर, एयर इण्डिया, र इन्डिगो एयर रहेका छन् ।
अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङकअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् । यो संख्या जुलाई महिनाको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल भित्रिएका थिए । विभागकाअनुसार अगस्टमा विभिन्न ३३ वटा देशबाट विदेशी नेपाल आएका छन् । जसमध्ये सार्क क्षेत्रका पाँच देशबाट दुई हजार १९२, सार्कबाहेक अन्य आठवटा एसियाली देशबाट ४२३, युरोपबाट एक हजार १५, अस्ट्रेलिया र न्युजिल्यान्डबाट ७० जना विदेशी नेपाल आएको विभागको तथ्याङक छ ।









































