काठमाडौँ, २७ साउन २०७८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
आज बिहान मुख्यमन्त्री निवासमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले नयाँ परिस्थितिमा अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेतासमेत रहेका पोखरेललाई दिएको थियाे । त्यसपछि प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन बस्नु अगावै पोखरेलले पदबाट राजीनामा दिएका हुन् ।
विपक्षी दलको समावेदनअनुसार प्रदेश प्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् । प्रदेशसभामा पोखरेल अल्पमतमा छन् ।
सतासी सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य छन् । सरकारको समर्थनमा नेकपा (एमाले)का ३९ प्रदेशसभा सदस्य रहेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी (केन्द्र)का १८, जनता समाजवादी पार्टी (जसपा)का तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।









































