वाग्मती, २७ साउन २०७८ । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन ।
यसरी लामो समयसम्म अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे चासो देखाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णयानुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई समयमै अक्सिजन प्लान्ट जडान हुन नसकेपछि स्पष्टीकरण मागसमेत गरिसकेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भएको विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिए ।
अबको सात दिनभित्रमा अस्पतालमा उद्योग सङ्घले सहयोग गरेको अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । सरकारले कोरोनाको तेस्रो भेरियन्टको चेतावनी दिइराख्दा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ हुनु उचित नभएकाले तत्काल यसप्रति अस्पताल प्रशासनको ध्यान जानुपर्ने प्रशासनको निष्कर्ष छ ।
सरकारले कोभिड–१९ को तेस्रो लहरको चेतावनी केही समयअघिदेखि नै दिँदै आइरहेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सावधानी तथा भविष्यमा आउने खतराका लागि सजग रहन र पूर्वाधार तयार पार्न पत्रसमेत पठाइसकेको छ । यता हेटौँडा अस्पतालले भने यस विषयमा खासै चासो देखाएको देखिन्न । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पताललाई गत असार १६ गते दिएको अक्सिजन प्लान्ट अझै जडान हुनसकेको छैन ।









































