गण्डकी, मंगलबार, १२ साउन २०७८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उहाँले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढ्ने बताए ।
उहाँले प्रदेशभित्रका धार्मिक पर्यटकीय महत्वका नवलपुरको गजेन्द्रमोक्ष धाम, देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
जनस्तरबाट शुरु गरी पुम्दीकोटमा यति ठूलो लगानीमा काम भएकामा प्रशंसा गर्दै उहाँले विगत वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने बताए । प्रदेश सरकारले यस वर्ष पनि रु ५० लाख पुम्दीकोटका लागि छुट्याएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।
पुम्दीकोटको महत्वलाई बुझेर क्षमताअनुसार सहयोगका साथै आसपासका बाटोका निर्माणका लागि सङ्घ सरकारसँग समन्वय गर्ने उहाँले बताए । अर्थमन्त्री रामजीप्रसाद बरालले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने बताउँदै धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकारले अझै रकम थप्नुपर्ने उल्लेख गरे ।
उहाँले राज्यस्तर र जनस्तरबाट लगानी भएको यस परियोजनालाई सार्थक बनाउने जिम्मा आफूहरूकै रहेको बताए ।









































