पोखरा, बिहिबार, ३ असार २०७८ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका स्वास्थ्यका अधिकारीसँग वृहत छलफल गरी आवश्यक निर्देशन दिएका छन् । मुख्यमन्त्रीमा बहाली भइसकेकापछि नीति तथा कार्यक्रम र बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा सरकारका कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा उनले छलफल गरेका थिए ।
छलफलमा सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्का, मन्त्रीहरु राजीव गुरुङ, मधुमाया अधिकारी गुरुङ र हरिशरण आचार्य समेत सहभागी थिए । प्रदेशमा कोरोना महामारी नियन्त्रण र उपचारका क्रममा भएका प्रगति विवरण स्वास्थ्य सचिव विनोद कुँवरले प्रस्तुत गरेका थिए । अरु प्रदेशभन्दा गण्डकीमा कोभिड नियन्त्रणका लागि उदाहरणीय कार्यक्रमहरु भएको उनले जानकारी गराए ।
सबै जानकारी लिइसकेपछि मुख्यमन्त्री पोखरेलले स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको, प्रदेशका अस्पतालहरुमा जनशक्ति अपुग भएको र अझै पनि जिल्ला अस्पतालहरुमा पर्याप्त सुविधा नभएको गुनासो सुनेकाले ती समस्या समाधान गर्न तत्काल पहल गर्ने बताए ।
उनले भएका समस्याका बारेमा सरकालाई जानकारी गराउन आग्रह गर्दै कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन समेत दिए । स्वास्थ्यकर्मीले जोखिमभत्ता नपाउनको कारण खोजेर तत्काल रकम निकासका पहल आफूले गर्ने उनले बताएका छन् ।









































