कर्णाली, आइतबार, ९ जेठ २०७८ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसी र जनरल फिजिसियन डा. प्रदीप न्यौपानेले कोरोना संक्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिने भएको छ ।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र चिकित्सकद्वय बीच कर्णालीका १० वटै जिल्लाका कोरोना संक्रमित पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी सम्झौता भएको हो ।
डा.केसी र न्यौपानेले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण रहुन्जेल पत्रकारसहित परिवारको स्वास्थ्य अवस्था, उपचार र त्यसबाट बच्न अपनाउनुपर्ने उपाय, आइसोलेशनमा रहँदा ध्यान दिनुपर्ने कुराबारे निःशुल्क परामर्श दिनेगरी सम्झौता भएको महासङ्घका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए ।
कोरोना संक्रमणका कारण दिनप्रतिदिन पत्रकार संक्रमित हुन थालेपछि संक्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले महासङ्घको पहलमा सम्झौता गरिएको हो ।









































