नुवाकोट, वैशाख २७ गते । नुवाकोटको शिवपुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले गाउँपालिकाका इन्जिनियरले गाउँपालिकाको नियम विपरित हुने गरी काम गरेकाले इन्जिनियरलाई कारवाहि गरेको बताउनुभएको छ । इन्जिनिय शिशिर भट्टराईले नियम विपरित काम गरेकाले उहाँलाई कारवाहि गरेको स्पष्ट गर्नुभयो । उहाँले आफूले इन्जिनियर भट्टराईलाई ज्यान मार्ने धम्की नदिएको समेत स्पष्ट पार्नुभयो ।
गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गरी लेखिएको निवेदनका आधारमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आचार्यले निवेदनमा उल्लेख गरे जस्तो केहि नभएको बताउनुभयो ।
शिवपुरीमा निर्माण भएको कोल्ड स्टोरको ठेक्कापट्टा प्रतिष्पर्धा हुँदा गाउँपालिकाको अत्यन्त गोप्य रहने फाइल इमेल गरेको, सार्वजनिक खरीद अनुगमन कार्यालयले उपलब्ध गराएको युजर आईडी र पासवर्ड अन्यलाई उपलब्ध गराउने, कार्यालय प्रमुखसँग समन्वय नगरी ठेक्का निकाल्ने, टेन्डर डकुमेन्ट बनाउँदा मनोमानी योग्यता निर्धारण गरी गाउँपालिकालाई विवादमा ल्याउने, ठेकेदारहरुसँग मिलेमतोमा योग्यता निर्धारण गर्ने लगायतका धेरै गल्ती भेटेकाले आफूले इन्जिनियरलाई शाखा परिवर्तन गरी नियमअनुसार कारबाही गरेको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो “जुन शाखामा रहेर जिम्मेवारीपूर्वक काम गर्नुपथ्र्यो, त्यो काम नगरेको पाइएकाले कार्यालय प्रमुखको हैसियतले जिम्मेवारी परिवर्तन गरेको हुँ ।” इन्जिनियरले गाउँपालिकाको अहित हुने धेरै कामहरु गरेको र कार्यालयको कतिपय गोप्य कुरालाई मिडियाबाजी गर्नु झन् गलत भएको आर्चायले बताउनुभयो । भटट्टराई कर्मचारीमा हुनुपर्ने सामान्य अनुशासन र आचरण पनि छैन । यस्तो प्रकारको कर्मचारीबाट पालिकाले राम्रो कामको अपेक्षा गर्न नसकिने उल्लेख गर्नुभयो ।
गाउँपालिकाको अहित हुने काम गरेकाले उनलाई भवन निर्माण तथा बस्ती बिकास अर्थात् नक्सा पास शाखामा सरुवा गरेको आचार्यले बताए । “कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने काम कार्यालय प्रमुखको हो । यो कुरालाई लिएर शक्तिकेन्द्रमा धाउनु गलत हो ।” अनावश्यक गुटबन्दी गर्ने, नचाहिदा काम गर्ने, गाउँपालिकाको अहित हुने काम गर्ने जोसुकै कर्मचारीलाई पनि नियमानुसार कारबाही गरिने प्रमुख प्रशासकिय अधिकृत आचार्यले बताउनुभयो ।
इन्जिनियर भट्टराईले आफूलाई कारबाही हुने भएपछि मिडियाबाजी गरेको र कार्यालय प्रमुखलाई नै धाक धम्की र चुनौती दिँदै सरुवा गराउने चलखेलमा शक्तिकेन्द्र धाएको आचार्यले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत आचार्यले गलत काम गर्ने कर्मचारीको उक्साहटमा नलाग्न र गाउँपालिकाको हित हुने कार्यमा सक्रिय हुन अन्य कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।









































