काठमाडौं, वैशाख ४ गते । उच्च जोखिम मानिने विश्वको दशाैं अग्लो अन्नपूर्ण हिमालमा छ जना नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरी नयाँ कीर्तिमान बनाउनुभएको छ । सन् १९७८ देखि आरोहण शुरु भएको अन्नपूर्ण हिमालमा हालसम्म नेपाली महिलाले आरोहण गर्न सकेको थिएन ।
शुक्रबार मध्यान्न छ नेपाली महिलासहित ६८ जना आरोहीले एकै साथ हिमाल आरोहण गरेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले जानकारी दिनुभयो । अन्य आरोहणमा पनि नयाँ कीर्तिमान हुन सक्छ तर विभागले कीर्तिमान बनाउने गरी कसैलाई अनुमति नदिएको तर नेपाली महिला भने पहिलो आरोही भएको बताउनुभयो ।
कीर्तिमानी महिला आरोहीमा माया शेर्पा, शर्मिला स्याङतेन, पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा र दावाफुटी शेर्पा रहनुहुन्छ । उहाँहरु नेपालका व्यवसायिक महिला आरोही हुनुहुन्छ । आरोही माया विश्वकै अग्लो हिमाल सगरमाथा, दोस्रो अग्लो हिमाल केटु र तेस्रो अग्लो हिमाल कञ्चनजंगा आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुनुहुन्छ । आरोही स्याङतेनले भने सगरमाथा र मनास्लु हिमालको आरोहण गरिसक्नु भएको छ ।
यता, दक्षिण एसियाकै पहिलो महिला माउन्टेन गाइड दावा याङजुमले समेत अन्नपूर्ण आरोहण गर्नुभयो । अर्का आरोही फोटोपत्रकार पूर्णिमा, सगरमाथामा पुगेर कफी बनाएर कीर्तिमान रचेका पहिलो बारिस्टा दावाफुटी र ट्रेकिङ गाइड एवं आरोही पासाङ ल्हामुले अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको हो ।









































