दमौली, शुक्रबार, १९ मङ्सिर २०७७ । “सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्नुहुन्छ, “दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम दमौली पु¥याउनुपथ्र्यो ।”
तनहुँको दक्षिणी भेगका रुपमा चिनिएको ऋषिङ गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई अब बिरामी हुँदा डोकोमा बोकिनुपर्दैन । व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–१ जोड्ने सुढेस्थित सेतीनदीमा पक्की पुल निर्माण भएसँगै यहाँका स्थानीयवासी बिरामी भएको अवस्थामा गाउँबाटै गाडीमा राखेर दमौली पु-याउन सकिने भएको छ । “अब चाहिँ सहज हुने भयो, गाडीमा २०/३० मिनेटमै पक्की पुलसम्म आइपुगिन्छ”, मल्लले भन्नुभयो, “दुःखका दिन सकियो ।” मल्लले ऋषिङपट्टिको सडक सफा गर्न आवश्यक रहेको जानकारी दिनुभयो । “पहिराले सडक अलिकति अप्ठ्यारो छ, त्यसलाई गाउँपालिकाले सफा गरिदिए हुन्थ्यो”, मल्लले भन्नुभयो ।
ऋषिङ गाउँपालिका–४ नाजुङका वीरबहादुर थापा पनि सेतीनदीमा पक्की पुल निर्माण भएपछि खुशी हुनुहुन्छ । “पुल नहुँदा कष्ट थियो, कृषिजन्य सामग्री पनि बोकेरै ल्याउनुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब त पुल बन्यो, गाडी पनि चल्छ, सहज हुनेभयो ।”
सङ्घीय सरकारको सडक डिभिजन कार्यालय तनहुँमार्फत उक्त पुल निर्माण सम्पन्न भएको हो । एक सय पाँच मिटर लम्बाइ रहेको उक्त पुल विसं २०७१ असार २९ गते निर्माण शुरु भएर २०७७ वैशाख ३० गते सम्पन्न भएको थियो । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको ठेक्का भरतपुरस्थित एडभेन्चर कन्स्ट्रक्सन प्रालीले पाएको थियो । सो पुल हुँदै ऋषिङको दुवुङ, मौरीबास, नाजुङ, बैदी, अर्चले पुग्न सकिन्छ ।









































