गोरखा, शनिबार, २९ कात्तिक २०७७ । गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पुर्याउन सक्ने भएकाले बिक्री वितरण कडाइ गरेको हो ।
निमित्त प्रजिअ देवी पाण्डे खत्रीले चाडबाडका बेला जथाभावी मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी हुने भएकाले सतर्कता अपनाउन यस्तो निर्णय गरिएको बताए । प्रशासनले कोही कसैले पनि घरेलु अवैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न पनि भनेको छ ।
जिल्लामा कोरोना सङ्क्रमणको दर बद्दै गएकाले चाडबाड मनाउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालन गर्न उनले सबैलाई अपिलसमेत गरेका छन् ।
त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न/नगराउन पनि आग्रह गरेको छ ।
प्रशासनले सूचना नै जारी गरेर कोरोना सङ्क्रमणको जोखिमबाट बच्नका लागि चाडपर्व मनाउँदा आफू र आफ्नो परिवारमा बसेर मात्र मनाउन, देउसीभैलो खेल्ने, सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, शुभकामना आदानप्रदान कार्यक्रम राख्ने, पिङ हाल्ने तथा खेल्ने जस्ता क्रियाकलाप नगर्न भनेको छ ।
साथै, घरमा बस्दासमेत अनिवार्य मास्कको प्रयोग गर्न, साबुनपानीले नियमित हातमुख धुन, स्यानिटाइजरको प्रयोग गर्न, आवश्यकभन्दा बाहेक घरबाहिर ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न पनि प्रशासनले सूचनामार्फत सबैलाई आग्रह गरेको छ ।
प्रशासनको निर्देशनको अवज्ञा गरे वा सूचना विपरीत क्रियाकलाप गरे/गराइएको पाइए स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम तथा रोग तथा सङ्क्रामक ऐन, २०२० बमोजिम कारबाही गरिने जनाइएको छ ।









































